अहिले विश्वका सबै अर्थमन्त्री, गभर्नरलाई सबैभन्दा ठूलो दबाब मूल्य स्थिरता कायम गर्न परिरहेको छ। यसलाई नियन्त्रणमा राख्न विभिन्न मुलुकमा आ–आफ्नै तरिकाले विभिन्न मापदण्डहरू लिइएको छ।
हामी कहाँ पनि मूल्य वृद्धिमा बढोत्तरी भइरहेको छ। मौद्रिक नीतिले पनि यसलाई सम्बोधन गर्न विभिन्न कदम चालेको छ। बाह्य क्षेत्रको सन्दर्भमा हामी गत सालदेखि दबाबमा छौं।
त्यसलाई नियन्त्रणमा राख्न हामीले प्रतित पत्र खोल्दा राख्नुपर्ने मार्जिन, केही वस्तुको आयातमा रोक लगाएका छौं। यो सधैका लागि होइन भनेर नै नेपाल सरकारले क्रमिक रूपमा यसलाई खुला गरिरहेकै छ।
मंसिरदेखि हामीले चालेका यी कदमले धेरै हदसम्म र सँगसँगै अन्य केही क्षेत्रको सहयोगको कारण अर्थतन्त्रमा केही सहजता आएको छ। यो सहजतामा सजगता पनि अपनाउनु पर्ने अवस्था भने छ।
हामीले आयातमा गरिएको कडाइ एकैपटक पूर्ण रूपमा खुला गर्दा वा आयात हिजोको दिनमा जसरी नै खुला गर्दा हिजोको दिन फेरि नदोहोरिएला भन्न सकिन्न।
यसै साता नेपाल सरकारले रोक लागेका केही वस्तुको आयात केही खुला गरेको छ। हामी पनि मार्जिन कडाइ गरिएका वस्तुहरुमा क्रमशः खुकुलो बनाउँदै जानेछौं भन्ने कुरा मौद्रिक नीतिमा नै उल्लेख गरेका छौं।
अहिले थप श्रम बजार खुल्दै गएका छन्। वैदेशिक रोजगारीमा जान नेपाली दाजुभाई इच्छुक समेत भइरहनु भएको छ। गत असारमा हामीले हालसम्मकै उच्च दरमा रेमिटेन्स भित्र्याएका छौं। असारमा मात्रै एक खर्ब दुई अर्ब रेमिटेन्स भित्रिएको छ। साउन भदौ कम रेमिट्यान्स आउने समय हो।
असोजमा यो फेरि बढ्ने अनुमान हाम्रो छ। सन् २०२२ को छ महिनामै गत वर्षको यही अवधिको तुलनामा दोब्बरले पर्यटक आएका छन्। केही वस्तुको निर्यात हुने संकेत हामीले पाइरहेका छौं। यसमा निरन्तरता भयो भने हाम्रो अर्थतन्त्रमा नयाँ विकल्प खुल्ने देखिएको छ। विद्युत् निर्यातमा समेत सम्भावना बढेर गएको छ।
अहिले कतिपय व्यवसायीहरूले चालु पुँजी कर्जा, प्रतित पत्र खोल्दा अन्तर्राष्ट्रिय बजार मूल्य विश्लेषण गर्नुपर्ने विषय पनि उठाउने गर्नु भएको छ। प्रतित पत्र खोल्दा अन्तर्राष्ट्रिय बजार मूल्यको विश्लेषण इनभ्वाइसको आधारमा गर्न सकिन्छ।
चालु पुँजी कर्जामा उहाँहरूबाट जति चिन्ता व्यक्त गरिएको छ। त्यति समस्या आउने अवस्था छैन। जसलाई नियमित रूपमा कारोबार गरिरहनु पर्छ उसले पाँच वर्षको लागि यस्तो कर्जा लिन सक्छ।
तर, समय समयमा लिइरहनु पर्ने ग्राहकले वर्षको एकपटक सबै ऋण तिरिनुपर्छ भनेका छौँ। दशैं, तिहारमा कसैले सामान किन्ने हिसाबले कर्जा लिएको छ भने उसले कारोबार भएपछि ऋण तिर्न सक्छ नै। यसमा कुनै समस्या हुनुपर्ने अवस्था छैन।
तर, त्यहा बेचेर भएको कमाइ मंसिर पुसमा पुगेर अन्तै लगानी गर्न थाल्छ भने यो सही भएन। त्यसैले यस्तो मौसमी कारोबारको लागि ती क्षेत्रले गर्ने वार्षिक कारोबारको २० देखि ४० प्रतिशत कर्जा पाउन सक्छ।
यस्तो पुँजीले वर्षमा अढाईदेखि पाँच पटकसम्म कारोबार गर्न पुग्छ। अढाई पटक समेत कारोबार गर्न नहुनेलाई यस्तो कर्जा किन धेरै चाहिन्छ र? वर्षमा पाँच बोरा चिनी वर्षभरीमा बेच्छ भने उसलाई पाँचै बोरा चिनी किन्न एकै पटक रकम चाहिने त होइन।
वर्षभरीमा उसले आवश्यकता अनुसार ऋण लिदैं चिनी किनेर बिक्री गर्न सक्छ। यस्ता कुरा केही उद्योगी, व्यवसायीहरूले बताउनु हुन्न। पैसा खराब चिज हो। पैसा पाएपछि त्यसलाई अरु प्रयोजनमा पनि प्रयोग गर्ने ध्येय हुन्छ।
यसलाई अनुशासित हुन दिदैन। अहिले धेरै कर्जा लगानी भएको कारण जुन कामलाई कर्जा लिइएको हो, त्यसमा मात्र नभएर अन्य पनि यस्तो पुँजीको प्रयोग भइरहेको छ। भनेकै कामको लागि यस्तो कर्जा लिदा समेत आवश्कयताभन्दा बढी सामान भण्डारण गर्ने गरिरहेका छन्।
केही समयअघि समाचारमा देखेको थिए यसरी अधिक भण्डारण गरिएको चामल म्याद गुज्रिसकेपछि पनि पुनः पोलिसिङ गरेर बिक्री गरिरहेका छन्। यसले मानव स्वास्थ्यलाई समेत असर पार्ने काम भइरहेको छ।
त्यसैले पनि हामीले ल्याएको चालु पुँजी कर्जाको कार्यविधि विविध पक्षको अवलोकन सहित सुधार गर्ने उद्देश्यले ल्याइएको हो।
यो कार्यविधि ल्याउन हामीले अहिले प्रयास गरेका पनि होइनौं। म डेपुटी गभर्नर हुँदादेखि नै यसलाई ल्याउन खोजेका थियौं।
मलाई समस्या छ, त्यो समय हाम्रो एक सञ्चालकलाई यसको अध्ययन गर्न जिम्मेवारी समेत दिएका थियौं।
अहिले तरलताको समस्या कहिले समाधान होला भनेर पनि जिज्ञासा आउने गरेको छ। तर, हाम्रो शोधानान्तर घाटा भएको कारण पनि पैसाको अभाव भएको हो।
आन्तरिक रूपमा त पैसा यही छ। तरलताको समस्या समाधान गर्न शोधानान्तरमा सुधार हुनैपर्छ। गत असारमा बैंकिङ प्रणालीमा निक्षेप बढ्यो। यसो हुनुमा रेमिटेन्समा वृद्धि र सरकारी खर्च बढेको कारण थियो।
सरकारी खर्च वार्षिक लक्ष्य अनुसार आवधिक रूपमा बढाउँदै लैजान सकियो भने तरलताको समस्या कम हुन्छ।
अर्को भनेको व्यवसायीहरूले समय तालिका अनुसार ऋण भुक्तानी गर्नुपर्छ। बैंकहरूमा पनि अनुशासित भएर लगानी गर्नुभयो भने समस्या हुँदैन। समस्याको समयमा सबैले केही न केही सहनुपर्छ। सही अवतरणको लागि पनि सबैले सहयोग गर्नुपर्छ।
आर्थिक पत्रकार समाज (सेजन)को २४ औं वार्षिक साधारण सभामा गभर्नर अधिकारीले राखेको विचार।