भक्तपुर सल्लाघारी चोकबाट साढे किलोमिटर दुरीमा पर्छ दुवाकोट। चाँगुनारायण नगरपालिकाको काठ क्षेत्रमा पर्ने यो ठाउँ नवसहरका रूपमा विकास भइरहेको छ। सर्वसुलभ सार्वजनिक सवारीसाधनको अभावमा यहाँका बस्ती भने दुरदराजका विकट बस्तीजस्तै छन्।
सवारी साधनका लागि केही हदसम्म अपायक मानिने यहाँका बस्तीमा सरसामान किन्दा नगद बोकर हिँड्नुपर्ने अवस्थाको भने अन्त्य हुँदै गइरहेको छ।
यहाँका तरकारी, मासु, खेलौना, किराना पसलदेखि मार्टसम्म 'क्युआर कोड' बाट किनमेल गर्न सकिन्छ। योसँगै नगद बोक्नुपर्ने बाध्यता हट्दै गइरहेको स्थानीयहरू बताउँछन्।
'अहिले पैसा बोकेर पसल जानु पर्दैन। मोबाइलबाटै पैसा तिरेर सामान किन्न सकिन्छ। पैसा बोक्नुपर्ने झन्झट हटेको छ,' चाँगुनारायण नगरपालिका-१, दुवाकोटका सागर न्यौपानेले भने।
सागर प्रायः दक्षिणकाली ग्रोसरी तथा सप्लायर्समा किनमेल गर्छन्। उक्त पसलका प्रोप्राइटर धनबहादुर गुरुङ बढी जसो युवा पुस्ताले किनमेल क्रममा क्युआर कोडबाटै भुक्तानी गर्ने बताए।
'दैनिक ६ हजार रूपैयाँ जस्तोको कारोबार यही क्युआर कोडमार्फत् भइरहेको छ,' धनबहादुरले भने, 'यहाँका धेरै बासिन्दाले अझै पनि नगदलाई नै प्राथमिकता दिन्छन्। तर स्थानीय युवा पुस्ता र नेपाल इञ्जिनियरिङ कलेजमा अध्ययन गर्न बाहिर जिल्लाबाट आउनेहरूले क्युआर कोडकै प्रयोग बढी गर्छन्।'
खुद्रा कारोबारका लागि प्रयोग गर्न सजिलो भएसँगै अहिले सहरी क्षेत्रका त अधिकांश पसलले क्युआर कोड राखिसकेका छन्। बसपार्कदेखि मेडिकल हल, क्याफे, सानातिना पसलमा समेत क्युआर कोड प्रयोग भइरहेको छ। ट्राफिक कारबाहीमा पर्दा जरिवाना पनि क्युआर कोडबाट तिर्न सकिन्छ।
नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या उच्च रहेकाले पनि क्युआर कोडजस्ता डिजिटल माध्यमबाट भुक्तानीमा वृद्धि भइरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको गत जेठसम्मको तथ्यांकअनुसार हाल नेपालमा चार करोड पाँच लाख जिएसएम मोबाइल सिम प्रयोग भइरहेको छ भने तीन लाख १९ हजार सिडिएमए प्रयोगमा छन्।
जनसंख्याभन्दा धेरै मोबाइल सिम प्रयोगमा भएकाले पनि डिजिटल भुक्तानीका यस्ता माध्यम निकै सहजताका साथ मानिसहरूले अपनाइरहेका छन्।
क्युआर कोडमा मानिसहरू कति सहज भएका छन् भन्ने उदाहरण हो कोटेश्वरमा रहेको मुन्ना वर्कसप।
वर्कसप सञ्चालक मुन्ना मनसुर अहमदले उदाहरण दिँदै भने, 'कतिसम्म हुन्छ भने, कोही यहीँ वरिपरि बस्ने चिनजानका व्यक्तिहरू मसँग नगद मागेर ट्याक्सीलाई भाडा दिन दिन्छन्। अनि मलाई क्युआर कोडबाट नगद बराबर रकम हाल्दिन्छन्।'
उनका अनुसार बाइक बनाउन आउने कतिपयले तिनुपर्नेभन्दा बढी रकम तिरिदिएर आवश्यक केही नगद पनि उनीसँग लिने गरेका छन्। मुन्नाले दैनिक सरदर दुई हजार रूपैयाँको भुक्तानी क्युआर कोडमार्फत् पाइरहेका छन्।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत असारमा मात्रै क्युआर कोड प्रयोग गरेर करिब ४३ लाख पटक कारोबार गरिएको छ। नेपालमा चल्तीमा रहेका डिजिटल भुक्तानीका विभिन्न १५ माध्यममध्ये क्युआर कोडबाट भइरहेको भुक्तानी संख्याको आधारमा छैठौं स्थानमा छ।
असारमा यो प्रणाली प्रयोग गरेर १४ अर्ब रूपैयाँको कारोबार भएको छ। खुद्रा कारोबारका लागि क्युआर पछिल्लो समय धेरै प्रयोग हुने विकल्पमा देखिन थालेको छ।
हाल नेपालमा फोन-पे पेमेन्ट सर्भिस लिमिटेड, स्मार्ट च्वाइस टेक्नोलोजिज र नेपाल क्लियरिङ हाउसमार्फत् विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूले क्युआर कोडको सुविधा दिइरहेका छन्।
राष्ट्र बैंकले नै पहल लिएर यसको प्रयोग बढाउन नक्साल र कालिमाटी तरकारी बजारमा समेत यसको सुरूआत गरेको थियो। बैंक तथा वित्तीय संस्थाहरूले पनि आफैं पसल-पसल पुगेर क्युआर कोड भुक्तानी व्यवस्था मिलाएका छन्।
डिजिटल रूपमा हुने यस्ता कारोबारले पछिल्लो समय सर्वसाधारणमा नगदको माग समेत घटाइरहेको छ।
आर्थिक वर्ष २०७७/७८ अन्त्यमा बजारमा चलनचल्तीमा पाँच खर्ब ७१ अर्ब रूपैयाँ थियो। गत असारमा यो ६६ अर्बले घटेर पाँच खर्ब ५ अर्ब रूपैयाँमा सीमित भएको छ। डिजिटल प्रणालीको प्रयोग बढ्दै जाँदा राष्ट्र बैंकलाई नोट छाप्दा लाग्ने भार समेत कम हुने अपेक्षा गरिएको छ।
हाल नेपाली नोटको आयु सरदर तीनदेखि पाँच वर्ष मानिन्छ। पाँच सय रूपैयाँभन्दा कमका नोट छाप्न प्रतिनोट दुई रूपैयाँ लाग्छ भने बाँकीलाई प्रतिनोट तीन रूपैयाँ ३७ पैसासम्म लाग्ने गरेको छ। औसतमा सबै खाले मुद्रा छाप्न दुई रूपैयाँ ५० पैसा लाग्छ। साना नोट हरेक तीन-तीन वर्षमा र ठूला नोट पाँच-पाँच वर्षमा पुरानो भएर प्रणालीमा फर्किने गरेको छ। यस्ता नोट केही समयअघिसम्म जलाइन्थ्यो। हाल भने ब्रिकेट बनाएर बेच्न थालिएको छ।
पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेको भुक्तानी माध्यम क्युआर कोड समस्यारहित भने छैन।
भुक्तानी गरिएको रकम प्राप्तकर्ताको खातामा जम्मा नभइदिने समस्याले कहिलेकाहीँ ग्राहकहरूलाई सताउने गर्छ।
'कहिलेकाहीँ उताबाट पैसा तिरिएको देखाए पनि यता खातामा रकम आएको देखाउँदैन,' वर्कसप सञ्चालक मुन्नाले भने, 'त्यसैले सधैं यसमा भर पर्न भने गाह्रो छ। नियमित ग्राहकले त भोलि पनि तिर्छन्। यस्तो अवस्थामा नयाँ ग्राहकसँग भने कारोबार गर्न गाह्रो हुन्छ।'
प्रणालीमा यदाकदा समस्या आउने गरेको फोन-पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा पनि स्वीकार गर्छन्।
'कुल कारोबारमा एक प्रतिशत समस्या आउने विषय विश्वभर नै आम हो। हामीकहाँ पहिले कम संख्यामा यसको प्रयोग हुँदा कम गुनासा थिए। अहिले प्रयोग बढेसँगै यो एक प्रतिशत पनि ठूलो भएको छ,' सापकोटाले भने।
प्राप्त गर्नेको खातामा रकम नदेखाउनेभन्दा पनि यसरी अड्केको कारोबारमा लामो समयसम्म भुक्तानी गर्नेको खातामा रकम नफकिर्ने समस्या अझै गम्भीर रहेको उनी बताउँछन्। राष्ट्र बैंकले यो समस्या समाधानका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई यस सम्बन्धमा नियम बनाएर भए पनि लागू गराउनुपर्ने उनको भनाइ छ।
अहिले नेपालमा इन्टरनेट तथा डेटाको शुल्क महँगो पर्ने भएकाले पनि क्युआर कोडको सहज प्रयोगमा बाधा पुगिरहेको छ।