अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एशियाली विकास बैंकसँग छलफल गरेका छन्।
एशियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषासँग कुराकानी गर्दै मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए।
'निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ' उनले भने।
उनले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरेपनि त्यसको मार भने खेपिरहेको बताउँदै नेपालमा हरित अमोनिया, हाइड्रोजन जस्ता वैकल्पित ऊर्जा उद्योगमा सहयोग गर्न अनुरोध गरे।
छलफलमा अर्थमन्त्री शर्माले नेपालको ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार लगायतका क्षेत्रमा लगानी आवश्यक भएकाले एशियाली विकास बैंकको सहयोग अझै बढाउन समेत अनुरोध गरे।
उपाध्यक्ष लाभाषाले बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधै हातेमालो गर्ने बताए।