मानव विकास सूचकांकमा नेपालको सूचक लगभग स्थिर रहेपनि एक सय ९१ मुलुकमा एक स्थान माथि उक्लिएको छ।
युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्राम (युनडिपी)ले सार्वजनिक गरेको मानव विकास सूचकांक २०२१/२०२२ अनुसार नेपाल एक सय ४३ स्थानमा छ। यसअघि सन् २०२० मा एक सय ८९ मुलुकमध्ये नेपालको स्थान एक सय ४४ औं स्थानमा थियो। सन् २०१९ मा भने यस्तो स्थान एक सय ४२ औंमा थियो।
नेपाल मानव विकास मध्यम हुने मुलुकहरूमध्ये परेको छ। सन् २०१५ देखि २०२१ को बीचमा नेपाल चार स्थान तल झरेको हो। सन् २०१० देखि २०२१ मा नेपालको मानव विकास सूचकांकको वार्षिक वृद्धिदर मात्रै ०.९४ प्रतिशत छ।
नेपालीहरूको औसत आयु ६८.४ वर्ष रहेको प्रतिवेदनमा उल्लेख छ। नेपालको प्रतिव्यक्ति खुद राष्ट्रिय आम्दानी वार्षिक तीन हजार आठ सय ७७ डलर छ।
नेपालमा वर्गीय खाँडल बढ्दै गएको प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार यहाँका ४० प्रतिशत गरिबको आम्दानी नेपालीहरूको कुल आम्दानीमा २०.४ प्रतिशत हिस्सा छ भने धनी एक प्रतिशतको हिस्सा १३.९ प्रतिशत छ। धनी दश प्रतिशतको यस्तो हिस्सा २६.४ प्रतिशत छ।
२०२१/२०२२ मा भारत दुई स्थान तल झरेर एक सय ३१ औं स्थानमा आइपुगेको छ। भारतको मानव विकास सूचक ०.६३३ छ। सन् २०१५ देखि २०२१ को बीचमा भारत एक स्थान मात्र तल ओर्लिएको हो। भारतको प्रतिव्यक्ति खुद राष्ट्रिय आम्दानी वार्षिक छ हजार पाँच सय ९० डलर छ।
मानव विकास सूचकांकको सबैभन्दा माथिल्लो स्थानमा स्विट्जरल्याण्ड आइपुगेको छ। पहिलो स्थानमा रहेको यो मुलुक सन् २०२० मा तेस्रो स्थानमा थियो। स्विट्जरल्याण्डको मानव विकास सूचक ०.९६ छ। यो मुलुकको खुद राष्ट्रिय आम्दानी वार्षिक ६६ हजार नौं सय ३३ डलर छ।
प्रतिवेदन अनुसार विश्वकै यस्तो सूचकांक दुई वर्षयता लगातार घटेको छ। यसअघि पाँच वर्षमा हासिल भएको उपलब्धि यो दुई वर्षमा ह्रास भएको छ। कोभिड-१९, युक्रेन-रसिया युद्ध, रेकर्ड तोड्ने गरेर भइरहेको तापक्रममा वृद्धिले मानव विकासलाई पछाडि धकेलेको प्रतिवेदनको सार छ।
‘अनिश्चितता नयाँ कुरा होइन। तर यसमा अहिले नयाँ आयाम थपिएका छन्। मानव विकास चरणमै नदेखिएको अनसर्टेन्निटी कम्प्लेक्स (जटल अनिश्चितता) विकास भइरहेको छ,’ प्रतिवेदनमा उल्लेख छ।