आर्थिक वर्ष २०७७/७८ मा १९ अर्ब नौ करोड रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।
अघिल्लो वर्षको तुलनामा यो १.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको सर्वेक्षणमा उल्लेख छ। सो अवधिमा ३९ करोड ६७ लाख रुपैयाँ लाभांश वा फिर्ता भएको छ।
आर्थिक वर्ष २०७७/७८ मा प्रतिबद्धता भएकोभन्दा ६०.६ प्रतिशतले बराबर रकम भित्रिएको हो। ३२ अर्ब १७ करोड बराबर रकम भित्र्याउने प्रतिबद्धता विदेशी कम्पनी वा व्यक्तिहरूले गरेकामा १९ अर्ब ५१ करोड रूपैयाँ भित्रिएको हो।
आर्थिक वर्ष २०७७/७८ मा नेपालमा कायम रहेको प्रत्यक्ष वैदेशिक लगानी भने १४.८ प्रतिशतले वृद्धि भएर दुई खर्ब २७ अर्ब रूपैयाँ पुगेको छ।
यसरी भित्रिएको रकम विभिन्न कम्पनीमा चुक्ता पुँजीको रूपमा एक खर्ब २२ अर्ब, सञ्चितिको रूपमा ७१ अर्ब ९८ करोड र ऋणको रूपमा ३३ अर्ब रूपैयाँ छ।
नेपालले भित्र्याउने प्रत्यक्ष वैदेशिक लगानीमध्ये भारतबाट धेरै लगानी भित्रिने गरेको छ।
नेपालमा ५५ विभिन्न मुलुकबाट वैदेशिक लगानी भित्रिँदै आएको छ।
यसमध्ये भारतको हिस्सा करिब ३४ प्रतिशत छ। भारतबाट नेपालले भित्र्याएको प्रत्यक्ष वैदेशिक लगानी ७५ अर्ब ८० करोड रूपैयाँ पुगेको छ। त्यसपछिको स्थानमा चीन छ। नेपालमा चिनको प्रत्यक्ष वैदेशिक लगानी ३३ अर्ब रूपैयाँ पुगेको छ।
नेपालमा औद्योगिक क्षेत्रमा सबैभन्दा धेरै वैदेशिक लगानी भित्रिने गरेको छ।
नेपालले प्राप्त गर्ने कुल वैदेशिक लगानीमा ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी भइरहेको छ। औद्योगिक क्षेत्रमा, ऊर्जा, ग्यास स्टिम लगायतमा सबैभन्दा धेरै लगानी भित्रिने गरेको छ।
भारतबाट प्राप्त प्रत्यक्ष वैदेशिक लगानी ऊर्जा, उत्पादनमूलक क्षेत्र र वित्तीय क्षेत्रमा अधिक छ। यी क्षेत्रमा क्रमशः ४१.६ प्रतिशत, ३५.९ प्रतिशत, १९.६ प्रतिशत छ।
त्यस्तै चीनबाट प्राप्त वैदेशिक लगानीमध्ये ऊर्जामा ६३.९ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा ४४.७ प्रतिशत, सूचना तथा सञ्चारमा ६.९ प्रतिशत छ।
प्रत्यक्ष वैदेशिक लगानी ल्याउन स्वीकृति पाएका छ सय चार संस्थामध्ये एक सय ९७ वटाको राष्ट्र बैंकले सर्वेक्षण गरेको हो।
यसरी लगानी पाएका उत्पादनमूलक क्षेत्रले आफ्नो क्षमताको ६४.९ प्रतिशत बराबर उत्पादन गरिरहेको उल्लेख छ। यसअघि यस्तो क्षमताको उपयोग मात्रै ४४.१ प्रतिशत मात्रै थियो।
सर्वेक्षेणमा समेटिएका एक सय ९७ वटा संस्थाबाट उत्पादित समाग्रीको बिक्रीबाट यिनले तीन अर्ब ८१ करोडको आम्दानी गरिरहेका छन्।
यस्ता संस्थाको सेयरमा प्रतिफल १४.७ प्रतिशत छ। यसअघि यस्तो प्रतिफल १५.६ प्रतिशत छ।
नेपालको खुद वैदेशिक लगानी अवस्था सकारात्मक रहेको उल्लेख छ।
मुलुकमा वैदेशिक सम्पत्ति १४ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ भने दायित्व १४ खर्ब एक अर्ब छ। यो ८० अर्ब रूपैयाँले सकारात्मक छ। मुलुकको खुद वैदेशिक लगानी अवस्था सकारात्मक हुनुपर्छ।