राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले मूल्य वृद्धि आठ प्रतिशत माथि पुगेको देखाएको छ।
असारमा ८.०८ प्रतिशत मूल्य वृद्धि रहेकोमा साउनमा ८.२६ प्रतिशत पुगेको छ। गत वर्षको साउनमा यो दर ४.३५ थियो।
राष्ट्र बैंकले वार्षिक औसत मूल्य वृद्धिदर सात प्रतिशतमा सीमित पार्ने लक्ष्य राखेको छ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दूग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्य वृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत छ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ्ग तथा घरायसी उपकरणहरू, शिक्षा र घरायसी उपयोगका वस्तुहरू उपसमूहको मुद्रास्फीति क्रमशः २३.८८ प्रतिशत, १०.५४ प्रतिशत, ९.०४ प्रतिशत, ८.११ प्रतिशत र ७.८६ प्रतिशत छ।