विराटनगरका उद्योगीहरुले वाणिज्य बैंकहरुको चर्को ब्याजदर नियन्त्रणका निम्ति राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्।
बैंक तथा वित्तिय संस्थाको नाफा कमाउने होडबाजीको असर उद्योगधन्दामा परेको भन्दै उद्योगीहरुले राष्ट्रबैंकले आवश्यक हस्तक्षेप गर्नुपर्ने माग राखेका हुन्। मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बैंकहरुले आफुखुशी ४ प्रतिशत स्प्रेड दर कायम राख्दा आफूहरु मर्कामा परेको बताए।‘६ महिना अघि मैले एकल अंकको ब्यादरमा सहमति गरेको थिएँ। अहिले ब्याजदर दोहोरो अंकको छ। भद्र सहमति भंग गर्दै बैंकहरूले आफूखुशी ४ प्रतिशतसम्म स्प्रेड दर कायम गरेका छन्। यसले हामी मर्कामा परेका छौँ,’ रिजालले भने।
बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदर कायमै रहे आफूहरुले जायजेथा सरकारलाई सुम्पिने स्थिति आउने व्यवसायीहरुको भनाइ छ। बैंकहरुको मनोमानीका कारण उद्यमशीलतानै धरासयी बनेको संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडाले भने, ‘राष्ट्रबैंकले ब्याजदर घटाउने विषयमा काम नगरे सरकारले हाम्रो जायजेथा लिए हुन्छ।’
कोरोनाका कारण उद्योग कलकारखाना घाटामा जाँदा बैंकिक क्षेत्र नाफामै रहेको भन्दै राष्ट्र बैंकले उद्योगीहरुका निम्ति सरल ब्याजदरको नीति ल्याउनुपर्ने व्यवसायीहरुको भनाई छ। ‘साउनमा मात्रै ९ सय करोड मुनाफा बैंकहरुले कमाएको सुनिन्छ। तर, उद्योग व्यवसाय र उपभोक्ताहरूको नाजुक अवस्था प्रति सरकार र राष्ट्र बैंकले खासै चासो नदिँदा हामी हतोत्साही भएका छौँ,’ अध्यक्ष रिजालले भने।
उद्योगको ऋणको निम्ति ब्याजदर, संस्थागत ऋणको ब्याजदर पुनरावलोकन नगरे उपभोक्ताहरुलाई समेत असर पुग्ने व्यवसायीहरुको भनाइ छ।