अर्थमन्त्री जनार्दन शर्माले इतिहास र वर्तमानमा राजनैतिक उचाई हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको बताएका छन्।
त्यसको लागि एतिहासिक लिगलिग कोट र आधुनिक पालुङ्गटारलाई जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाई अगाडि बढाउनु पर्ने बताएका छन्।
पालुङ्गटारलाई सूचना प्रविधिमा अघि बढाई स्मार्ट सिटी बनाउनु पर्ने भन्दै संघीय सरकार र अर्थमन्त्रालयबाटसम्पूर्ण सहयोग हुने उनले बताए।
'स्मार्ट सिटिमा गरिबी र अभाव भन्ने कुरा हुँदैन। पालुङ्गटारले त्यो समृद्दिको उचाइ पनि हासिल गर्नेछ।' उनले भने।
उनले अहिले देशलाई उत्पादनसँग जोडेर आयातित वस्तुलाइ विस्थापन गर्नु पर्नेमा पनि जोड दिए।
'नजिकै नदि बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिँचाइ गर्न सकिरहेका छैनौँ, यो पानीलाइ टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्दछ। यसका लागि सरकारले पर्याप्त बजेट प्रदान गरेको छ बजेट खर्च गर्दै कामलाई द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछु' मन्त्री शर्माले बताए।
देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपूर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको उनले बताए।
नेपालको मध्य पहाडी लोकमार्ग पालुङ्गटार भएर अघि बढेको बताउँदै उक्त राजमार्ग निर्माणको योजना माओवादी सरकारले ल्याएको पनि स्मरण गराए।
संघीयता कार्यन्वयनका लागि दलहरूबीच राजनैतिक एकता र सहकार्य अपरिहार्य भएकोले गठबन्धन दलका कार्यकर्ताले आफूलाई यो चिन्ह मन परेन म सांसद बन्न पाइन भनेर मत विभाजन गर्नु हुँदैन भन्नेमा जोड दिए।
यो गठबन्धन कसैलाई सांसद बनाउन र मन्त्री बनाउन नभएर ठूलो राजनीतिक परिवर्तन पछि स्थापना भएको व्यवस्थालाई मजबूत बनाउँदै समाजवादको दिशामा अगाडी बढ्नको लागि भएको पनि उनले बताए।
संघीयतालाई स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै पालुङ्गटारमा बसेर विकास भएन, हामीलाई विकास चाहियो भनेर भन्न पाउनु संघीयताको उपलब्धी भएको पनि उनले बताए।
सरकारले लिएको राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सुचाङकहरू सकरात्मक अवस्थामा पुगेका बताउँदै उनले केही तरलताको अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको पनि बताए।
बैंकमा व्याज पाउने उद्देश्यले पैसा थुपारेर उत्पादन नहुने बताउँदै बैंकले दिने गरेको ब्याज घटाउन सरकार लागि परेको स्पस्ट पार्दै सबै नागरिकहरूलाई आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने उनले बताए।
दोस्रो लिगलिग पालुङ्गटार महोत्सव उद्घाटनका लागि अर्थमन्त्री जनार्दन शर्मा बुधबार दिउँसो पालुङ्गटार गएका हुन् ।
लिगलिग पालुङ्गटार उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा भइरहेको महोत्सव भदौ ११ गतेसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष मान बहादुर आलेले बताए।