एउटा आँखामा रूपाताल, अर्कोमा बेगनास!
पोखरामा यस्तो भनाई त्यसै चल्तीमा आएको होइन। यी दुई तालको अवस्थितिलाई दर्शाउन आएको हो।
अब भने दुइटा ताललाई छुट्टाछुट्टै अस्तित्व र पहिचान दिएको सुन्दरी डाँडाले छेकेर यहाँको पानी छेकिने छैन। किनभने नेपाल विद्युत प्राधिकरणले यी दुइटा तालको पानी एकअर्कामा पठाएर बिजुली निकाल्ने योजना बनाएको छ।
बेगनासतालको पानी पम्पले तानेर रूपातालमा खन्याउने र बिजुली निकाल्नेबारे प्रारम्भिक अध्ययन भएको प्राधिकरणका उपकार्यकारी निर्देशक रामजी भण्डारीले जनकारी दिए। यसरी बिजुली निकाल्दा १५० मेगावाट बिजुली निकाल्न सकिने प्रारम्भिक अध्ययनले देखाएको उनले बताए।
बेगनासतालको पानी रूपातालमा खन्याउँदा कतै बेगनासताल सुक्ने त होइन भन्ने प्रश्नमा भण्डारीले पिक टाइमको चार घन्टा बेगनासतालको पानी रूपामा खन्याएर बिजुली निकालिने बताए।
'पिक टाइमको चार घन्टा बेगनासतालको पानी रूपामा खन्याएर बिजुली निकाल्ने,' उनले भने, 'त्यसपछि अफ टाइममा फेरि रूपातालको पानी बेगनासतालमा खन्याउने गरी अध्ययन भइरहेको छ।'
नेपालमै पहिलो पटक 'पम्प स्टोरेज' आयोजनाका रूपमा प्राधिकरणले यस आयोजनालाई अघि बढाउन चाहेको छ। बेलुका ६ बजेदेखि ९ बजेसम्म बिजुलीको अत्यधिक माग हुने, दिउँसो र राति उत्पादित बिजुली खेर जाने अवस्थालाई मध्यनजर गरेर 'चार्जिङ ब्याट्री' का रूपमा यो आयोजनालाई प्राधिकरणले लिएको छ।
'बेगनास–रूपा पम्प स्टोरेज हामी बेलुका ६ बजेदेखि ९ बजेसम्म मात्र चलाउने गरी अध्ययन भइरहेको छ,' उपकार्यकारी निर्देशक भण्डारीले भने, 'नेपालमै पहिलो पटक यस प्रविधिमा बिजुली निकालेर पिक टाइमको माग सम्बोधन गर्न खोजेका हौं।'
जलविद्युत क्षेत्रका जानकारहरू रूपाताल र बेगनासतालको बीचमा उठेको सुन्दरीडाँडा यसै आयोजनाका लागि बनेको भनेर व्याख्या गरिरहेका छन्। बेगनासताल र रूपातालको बीचमा उठेको करिब ६० मिटर अग्लो सुन्दरीडाँडा पम्प स्टोरेजका प्राकृतिक 'हेड' भएको उनीहरूको बुझाइ छ। पम्पबाट पानी तानेर बिजुली निकाल्ने प्रविधि महँगो भए पनि पिक टाइमका लागि उपयुक्त भएको प्राधिकरणले जनाएको छ।
'पिक टाइममा हामीले अरू आयोजनाका बिजुली पनि राति र दिउँसोको समयमा भन्दा बढी शुल्क तिर्छौं,' प्राधिकरणका एक अधिकारीले भने, 'पिक टाइममा मात्र यस आयोजनाबाट बिजुली उत्पादन गरेर बिक्री गर्ने भएकाले घाटामा भने जाँदैन।'
नेपालमा अहिले कुलेखानी जलविद्युत आयोजना मात्र जलाशययुक्त आयोजनाका रूपमा छ। जुन आयोजनाबाट प्राधिकरणले आफूलाई आवश्यक समयमा मात्र बिजुली निकाल्न सक्छ। अन्य आयोजनाहरू भने खोलाका पानी बहावमा आधारित भएकाले तिनबाट लामो समय पानी भण्डारण गरेर राख्न सकिँदैन। जसले गर्दा बिजुली धेरै खपत नहुने दिउँसो र रातिको समयमा बिजुली खेर जाने गरेको छ।
बेगनास–रूपा पम्प स्टोरेजबाट प्राधिकरणले चाहेको बेला मात्र बिजुली निकाल्न सक्छ। पिक टाइमका माग सम्बोधन गर्न यस्ता आयोजना आवश्यक हुने प्राधिकरणका उपकार्यकारी निर्देशक भण्डारीले बताए।
नेपाल विद्युत प्राधिकरणले यस आयोजना अघि बढाउन २०७४ सालमै लाइसेन्स लिएर अध्ययन अगाडि बढाएको थियो। अहिलेसम्म अन्तिम अध्ययन प्रतिवेदन तयार भइसकेका छैनन्। जसले गर्दा निर्माणको काम पनि अघि बढेको छैन।
प्राधिकरणले यस आयोजनाबाट उत्पादन गर्न सकिने बिजुलीका विषयमा अध्ययन गर्न जापानी सहयोग नियोग (जाइका) लाई जिम्मा दिएको थियो। त्यतिबेला जाइकाले यो आयोजनाबाट ३ सय मेगावाट बिजुली निकाल्न सकिने निष्कर्षसहित प्रतिवेदन प्राधिकरणलाई बुझाएको थियो।
जाइकाको प्रतिवेदनमा ३ सय मेगावाट बिजुली निकाल्दा बेगनासतालको पानी ३ मिटर तल पुग्ने र १५० मेगावाट निकाल्दा डेढ मिटर घट्ने उल्लेख छ। प्राधिकरणले भने बेगनासतालको पानीको सतह अहिलेको भन्दा १ मिटर बढाएर १५० मेगावाट बिजुली निकाल्न चाहेको छ। जसले बेगनासतालको पानी अहिले भइरहेको सतहमा कमी आउन नदिने उपकार्यकारी निर्देशक भण्डारीले बताए।
प्राधिकरणको प्रारम्भिक अध्ययनले यस आयोजनाबाट १५० मेगावाट बिजुली निकाल्दा २० अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरेको छ।
'कति बिजुली निकाल्न सकिन्छ र कति खर्च लाग्ला भनेर निष्कर्ष निस्किसकेको छैन,' भण्डारीले भने, 'आयोजनाबारे अध्ययन भइरहेको छ। अन्तिम प्रतिवेदन आएपछि निष्कर्ष निकाल्न सकिन्छ।'
प्राधिकरणको टोलीले पोखरा र रूपा गाउँपालिकाका स्थानीय जनप्रतिनिधिसँग आयोजनाका बारेमा बुधबार सुझाव मागेका थिए। स्थानीय जनप्रतिनिधिले भने पर्यटकीय गन्तव्यका रूपमा विकास हुने गरी आयोजना अघि बढाउन सुझाव दिएका छन्।
'बेगनासताल र रूपाताल आफैंमा पर्यटकीय गन्तव्य हो,' रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले भने, 'दुइटा तालका पानी दुईतिर सरोवर गर्दा पर्यटकीय आकर्षण देखिने गरी बनाउन हामीले सुझाव दियौं।'
आयोजना निर्माण गर्दा दुइटा ताल र सुन्दरीडाँडाको वातावरण एवं जैविक विविधतामा असर पर्न नदिन स्थानीय जनप्रतिनिधिले माग गरेका छन्। रूपा गाउँपालिका अध्यक्ष ओझाले आयोजना निर्माणमा स्थानीयले रोजगारीदेखि सेयरको अवसर दिन माग गरेका छन् ।
'देशमा पिक टाइममा अहिले पनि अघोषित लोडसेडिङ छ। यसलाई हटाउन यो आयोजनाले मद्दत गर्छ भने बनाउनुपर्छ,' उनले भने, 'तर स्थानीयले अग्राधिकार पाउनुपर्छ।'
बेगनास र रूपामा अहिले स्थानीय सहकारीमार्फत माछापालन भइरहेका छन्। जसका आम्दानी स्थानीय विद्यालयदेखि किसानले पाइरहेका छन्। दुवै तालमा माछा सम्बन्धी अध्ययन र अनुसन्धानका काम पनि भइरहेका छन्।
विद्युत प्राधिकरणले पम्प स्टोरेज बनाउँदा तालका माछालाई कुनै असर नपर्ने बताएको छ।
'हाम्रो प्रारम्भिक अध्यनले तालको माछालाई कुनै असर नपर्ने रिर्पोट आएको छ। वातावरणलाई असर नपार्ने गरी तालको पानी यताबाट उता र उताबाट यता मात्र गर्ने हो,' उपकार्यकारी निर्देशक भण्डारीले भने।