योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताका श्रीमान–श्रीमतीले पनि उपचार सुविधा पाउने भएका छन्।
सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ (तेस्रो संसोधन) ले यो व्यवस्था गरेको हो।
यो सुविधा स्वीकृत भएको ९१औं दिनदेखि लागु हुने कोषले बताएको छ।
संसोधित कार्यविधि बुधबार (हिजो) स्वीकृत भएको कोषले जानकारी दिएको छ।
कोषले योगदानकर्ताहरूको हितलाई ध्यान दिँदै विभिन्न योजनाहरूमा सुधार गर्दै लगेको छ।
संशोधनअनुसार हाल योगदानकर्ताले प्राप्त गर्दै आइरहेको औषधि उपचार सुविधा निजको श्रीमान–श्रीमती समेतले पाउने गरी व्यवस्था गरिएको छ।
यसका साथै, घातक रोगको औषधि उपचार सुरक्षा योजना अन्तर्गत कोषमा कम्तीमा दुई वर्ष योगदान गर्ने योगदानकर्ताको कोरोनरी आर्टरी वाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्क घात, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल ईन्जुरी, हेड ईन्जुरी, सिकलसेल एनिमिया रहेमोफेलिया वा थालासेमिया रोगहरूका लागि सेवा आवधिभर दश लाखसम्मको उपाचार खर्च समेत कोषले व्यहोर्ने व्यवस्था गरिएको छ।
घातक रोगको औषधि उपचार सुविधा कोषमा कुनै योगदानकर्ताले योगदान गर्न छाडेको दुई वर्षसम्म लागु रहने व्यवस्थाका साथै कोषको बृद्धाअवस्था सुरक्षा योजना अन्तरगत निवृतभरण प्राप्त गर्ने योगदानकर्ताहरूले निवृतभरण प्रारम्भ भएको सात वर्षसम्म घातक रोग सम्बन्धी सुविधा उपयोग गर्न सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, योगदानकर्ता सन्तती छात्रवृत्ति सञ्चालन कार्यविधि २०७९ पनि स्वीकृत भएको छ।
सामाजिक सुरक्षा कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने क्रममा योगदानकर्ताका सन्ततीहरूलाई चिकित्सा विज्ञान,इन्जिनियरिङ्ग, नर्सिङ्ग, वन विज्ञान, कृषि विज्ञान र होटल तथा ट्राभल व्यवस्थापन विषयका लागि हरेक वर्ष प्रत्येक प्रदेशबाट १२ जनाका दरले जम्मा ८४ जनालाई छात्रवृत्ति प्रदान हुने व्यवस्था योगदानकर्ता सन्तती छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ मा गरिएको छ ।
योगदानकर्ता सन्तती छात्रवृत्ति कार्यक्रम आगामी शैक्षिक शत्रदेखि लागु हुनुका साथै प्रतिव्यक्ति बढीमा पाँच लाख रुपैयाँका दरले छात्रवृत्ति प्रदान हुने व्यवस्था यस कार्यविधिमा रहेको छ।
योगदानकर्ताको हितलाई सर्वोपरी ठान्दै कोषले विगतमा विभिन्न किसिमका सामाजिक सुरक्षाका योजनाहरू सञ्चालनमा ल्याएको छ।
सामाजिक सुरक्षाका कार्यक्रमहरू थप विस्तार गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनमा टेवा पुग्ने विश्वासका साथ आगामी दिनहरुमा समेत यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिने कोषका प्रवक्ता विवेक पन्थीले बताए।