नेपालले भारतलाई बिजुली बेचेर सात अर्ब ९३ करोड २२ लाखभन्दा बढी आम्दानी गरेको छ।
करिब ४ महिनाको अवधिमा नेपालले एक अर्ब युनिट बिजुली बिक्री गरेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए।
नेपालले भारतलाई गत जेठदेखि बिजुली बिक्री गर्न थालेको हो। ‘हामीले प्रतियुनिट औसत सात रुपैयाँ २१ पैसामा भारतलाई बिजुली बिक्री गरिरहेका छौं,’ भट्टराईले सेतोपाटीसँग भने।
आन्तरिक उत्पादन बढ्दै जाँदा पहिलो चरणमा नेपालले इण्डियन इनर्जी एक्सचेन्जमा ३९ मेगावाट बिजुली विक्री गरेको थियो। प्राधिकरणले पहिलो चरणमा नुवाकोटमा सञ्चालित त्रिशुली जलविद्युत्बाट २८ मेगावाट र देवीघाटबाट १५ मेगावाट बिजुली विक्री गरेको थियो।
हाल विभिन्न ६ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक ३६४ मेगावाट भारतीय बजारमा बिक्री हुँदै आएको छ।