काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए) ले उपत्यकाभित्र सार्वजनिक रूपमा प्रयोग भइरहेका भवन तथा जग्गाको नाप-नक्सालगायत कागजात बुझाउन निर्देशन दिएको छ।
गत सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले घर तथा जग्गा धनीहरूलाई सात दिनभित्र नाप-नक्सा लगायतका कागजात बुझाउन निर्देशन दिएको हो।
‘काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण व्यापारिक भवन, संयुक्त आवास, सामूहिक आवास, सम्पूर्ण शिक्षण संस्था एवं स्वास्थ्य संस्थालगायत सार्वजनिक प्रयोग भइरहेका भवनका धनीहरूले नाप-नक्सालगायत कागजात प्राधिकरणलाई बुझाउन अनुरोध गर्दैछौं,’ प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ।
उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ शहरीकरणको विषयमा मापदण्ड तय गर्ने र त्यसको कार्यान्वयन भए नभएको विषयमा निरीक्षण गर्ने, निषेध गर्ने र नियन्त्रण समेत गर्ने अधिकार प्राधिकरणलाई छ।
सोही अधिकारअनुसार प्राधिकरणले सार्वजनिक भवनहरू र जग्गाको नाप-नक्सा लगायत कागजात मागेको हो।