मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेको छ।
विदेशी मुद्राको सञ्चितिमा अझै अपेक्षाकृत रूपमा सुधार नभएकाले आयात प्रतिबन्ध कायम राख्न प्रस्ताव गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
उनका अनुसार मन्त्रालयले बिहीबार प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पुर्याएकाे हो।
देशको आर्थिक अवस्थामा खासै सुधार नभएको भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयात प्रतिबन्धलाई निरन्तरता दिनपर्ने पहिल्यैदेखि बताउँदै आएका छन्।
सबै प्रकारका तयारी मदिरा, तीन सय डलर माथिका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शवबाहन बाहेक), एक सय ५० सिसी माथिका मोटरसाइकलमा प्रतिबन्ध छ।
सरकारले यी वस्तुमा पाँच महिनाअघि लगाएको प्रतिबन्धको म्याद आजबाट सकिँदै छ।
विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो।
असार ३१ मा राजपत्रमा अर्को सूचना प्रकाशित गर्दै त्यसलाई भदौ १४ सम्म निरन्तरता दिइएको थियो।
भदौ १५ गते राजपत्रमा अर्को सूचना निकाल्दै सरकारले १० मध्ये ६ वस्तुमा लगाएको प्रतिबन्ध खुला गर्दै चार वस्तुको प्रतिबन्धलाई असोज २८ सम्म लम्ब्याएको थियो।
तर व्यवसायीहरूले भने आयात प्रतिबन्ध हटाउन सरकारलाई दबाब दिँदै आइरहेका छन्।