अर्घाखाँची सिमेन्टले भारतमा सिमेन्ट पठाउन सुरू गरेको छ। निर्यात अनुदान कार्यविधि सार्वजनिक भएसगै अर्घाखाँची सिमेन्टले भारतमा सिमेन्ट निर्यात सुरू गरेको हो।
कम्पनीले पहिलो चरणमा एक सय टन सिमेन्ट निर्यात गरेको हो।
अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले उद्योग सुरू भएदेखिको आफ्नो सपना पूरा भएको बताए।
'मेरो सपना बल्ल पूरा भएको छ। मेरो आशा उद्योगले उत्पादन गरेको सम्पूर्ण सिमेन्ट भारत निकासी गर्न पाउँ भन्ने हो। तर यसका लागि अझै धेरै काम हुन बाँकी छ' उनले भने।
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा निर्यात सम्भावना भएका स्टिल, सिमेन्ट, क्लिंकर, जुत्ता/चप्पल, प्रशोधित पानी, सूचना (प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवाहरू निर्यात गर्ने उद्योगी व्यवसायलाई आठ प्रतिशत नगद निर्यात अनुदान दिने उल्लेख गरेको छ।
बजेटमा घोषणा भए अनुसार सरकारले वार्षिक ५० करोड रुपैयाँ बढीको निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने गरी हालै कार्यविधी ल्याएको छ। यही सुविधा पाएपछि यहाँका उद्योगहरूले भारतामा सिमेन्ट निर्यात गर्न सुरू गरेका हुन्।
कम्पनीले सिमेन्ट भारत निकासी गर्न भारतीय गुणस्तर चिह्न समेत पाइसकेको छ।
उद्योगले भारतीय बजारमा नेपाली पिपिसी सिमेन्ट निर्यात गरेको हो। सीमा क्षेत्रबाट एक सय मिटर परसम्म मात्र पनि सिमेन्ट पठाउन सकियो भने नेपाली सिमेन्टको बजार दोब्बर हुनेछ।
नेपालको तुलनामा भारतमा विकासको काम धेरै भइरहेको छ। त्यही अनुरूप सिमेन्टको माग पनि उत्तिकै रहेको मुरारका बताउँछन्।
'धेरै टाढा पठाउन सकिँदैन। उत्तर प्रदेश अन्य राज्यभन्दा पिछडिएको छ, विकास पनि त्यहीँ गर्नुपर्ने हो,' उनले भने, 'त्यहाँ मात्रै पठाउन सकियो भने पनि बजार दोब्बरले वृद्धि हुन्छ।'
नेपाली उद्योगलाई भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्न सरकारले निर्यात अनुदान दिएर मात्रै नपुग्ने मुरारका बताउँछन्।
सिमेन्ट उत्पादन तथा बिक्री गर्दा उद्योगीले धेरै किसिमका कर तिरेका हुन्छन्। त्यसैबापत सरकारले आठ प्रतिशत नगद अनुदान दिएको उनको भनाइ छ।
सिमेन्टको लागत खर्च घटाउन भारतबाट कोइला आयात गर्न बाटो खुलाइदिनु पर्ने उनले बताए।
अर्घाखाँची सिमेन्ट उद्योग रूपन्देहीको सियारी गाउँपालिका–२ मा छ।
२०७१ सालमा स्थापना भएको यो उद्योगमा ठूला घराना व्यवसायी सिद्धार्थ ग्रुप, केडिया ग्रुप र मुरारका ग्रुपका साथै भारतको उमा सिमेन्ट इन्टरनेसनलको साढे १७ प्रतिशत लगानी छ। कम्पनीमा हालसम्म आठ अर्ब रूपैयाँभन्दा बढी लगानी पुगिसकेको छ।
स्थापनाकालदेखि नै आफ्नै चुनढुंगा खानी भएको उद्योगको दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता छ। हाल भने दैनिक ३५ देखि ४० हजार बोरा सिमेन्ट मात्र उत्पादन गर्दै आएको छ। उद्योगले क्लिंकर अन्य सिमेन्ट उद्योगलाई पनि बिक्री गर्छ।
सुरूआतमा उद्योगले ओपिसी सिमेन्ट मात्रै उत्पादन गर्थ्यो। २०७६ सालबाट पिपिसी सिमेन्ट उत्पादन सुरू गरेको हो।
घरायसीदेखि सरकारी आयोजनाहरूमा अर्घाखाँची सिमेन्टको माग रहेको कम्पनीका वित्त अधिकृत प्रमुख राजु पौडेलले बताए।
उनका अनुसार रानी जमरा कुलरिया सिँचाइ आयोजना, नारायणगढ (मुग्लिन सडक, भैरहवा विमानस्थल लगायत र विभिन्न पुलहरूमा अर्घाखाँची सिमेन्ट प्रयोग भएको छ। सिमेन्ट हजारभन्दा बढी डिलरबाट देशभर बिक्री वितरण हुन्छ। उद्योगले प्रत्यक्ष रूपमा ४ सय ५० जनालाई रोजगारी दिएको पौडेल बताउँछन्।
उद्योगमा उच्च प्रविधि जडान गरिएकाले सिमेन्ट प्याकेजिङसम्मको काम मेसिनबाटै हुन्छ। कम्पनीले केही वर्ष अघिदेखि नै आइपिओ निष्कासनको तयारी समेत गरिरहेको छ।