विश्व बैंकले यो वर्ष नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ। सरकारले भने यस वर्ष ८ प्रतिशत वृद्धिको लक्ष्य लिएको छ।
सोमबार 'नेपाल डेभलपमेन्ट अपडेट' सार्वजनिक गर्दै विश्व बैंकले यो प्रक्षेपण सार्वजनिक गरेको हो।
त्यस्तै विश्व बैंकले मूल्य वृद्धि ५.५ प्रतिशत प्रक्षेपण गरेको छ। सरकारको प्रक्षेपण भने ७ प्रतिशतभित्रै हुने छ।
विश्व बैंकले सबैभन्दा धेरै औद्योगिक क्षेत्रमा ८.९ प्रतिशत, सेवा क्षेत्रमा ५.६ प्रतिशत र कृषि क्षेत्रमा २ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ। गत वर्ष यी क्षेत्रमा क्रमशः १०.२ प्रतिशत, ५.९ प्रतिशत र २.३ प्रतिशत वृद्धि भएको थियो।
गत वर्षदेखि नै जलविद्युत क्षेत्रमा बढेको लगानीको कारण औद्योगिक क्षेत्रमा उच्च वृद्धि देखिएको हो।
त्यस्तै उपभोक्ताको माग बढेको कारण सेवा क्षेत्रमा वृद्धि देखिएको हो। कर्जाको माग र प्रयोग उच्च भएकाले उपभोक्ताको माग बढेको हो।
कोभिडपछि यातायात क्षेत्रमा समेत उपभोग बढेको, घरजग्गा कारोबार बढेकोले वृद्धि देखिएको विश्व बैंकले उल्लेख गरेको छ।