सरकारले आर्थिक वर्ष २०७९/८० को लागि धानको समर्थन मूल्य तोकेको छ।
मन्त्रिपरिषदको कात्तिक १६ गतेकाे बैठकले मोटा धान र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको हो।
सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ कायम गरेको छ।
गत आर्थिक वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७५२ रुपैयाँ र मध्यम धान २ हजार ९०२ रुपैयाँ तोकिएको थियो।
गत अर्थिक वर्षको तुलनामा मोटा धानको मूल्य प्रतिक्विन्टल २१५ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २२६ रुपैयाँ बढेको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी दिएको छ।
न्यूनतम समर्थन मूल्य अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट धान खरिद हुने व्यवस्था छ।
यसैगरी, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने समेत मन्त्रालयले जनाएको छ।
हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई ११२ रुपैयाँ प्रतिक्विण्टल व्यवस्थापन खर्च उपलव्ध गराउने व्यवस्था छ।
गत वर्ष यस कार्यक्रम अनुसार करिब ९ हजार मेट्रिक टन धान खरिद भएको थियो। यस आर्थिक वर्षमा ३ लाख मेट्रिक टन धान खरिदका लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।