चीनसँगको सुमधुर राजनीतिक सम्बन्धका बाबजुद नेपालले आर्थिक सम्बन्ध विस्तार गर्न नसकेको कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले बताएका छन्।
चीनतर्फ नेपालको निकासी व्यापारले अपेक्षाकृत गति लिन नसकेकोले यसका लागि नेपाल–चीन व्यापारिक सम्झौताअनुसार चीनले प्रदान गरेका सुविधा उपयोग गरेर निकासी बढाउनु पर्ने पुनले बताएका हुन्।
बिहीबार राजधानीमा आयोजित नेपाल चीन उद्योग वाणिज्य संघको २३औं वार्षिक साधारणसभामा पुनले नेपालका कृषिजन्य उत्पादन, जडिबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने सम्भावना रहेको बताए।
'हामीले चिनियाँ बजारको अध्ययन गरी त्यहाँका उपभोक्ताको रुचि अनुसार नेपाली बस्तु निकासी गर्न सक्नुपर्छ र यसका लागि नेपाल चीन उद्योग वाणिज्य संघ लगायतका संस्थाहरूले समन्वय र सहकार्य गर्नु आवश्यक छ,' पुनले भने।
संसारकै आर्थिक रुपमा महाशक्ति राष्ट्र चीनसँग व्यावसायिक सम्बन्ध विकास नेपालको लागि ठूलो अवसर भएको र नेपालले आफ्ना मौलिक उत्पादनहरू निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्ने उनको भनाइ छ। नेपाली वस्तु निकासी गर्दा कच्चा पदार्थको प्रशोधन गरी पूर्ण रुपमा तयारी बस्तुमात्र निकासी गर्नुपर्नेमा पुनले जोड दिए।
नेपालका लागि चिनियाँ दूतावासका चार्ज डे अफेयर्स वाङ सिनले दुई मुलुकबीचको आर्थिक तथा व्यापारिक सम्बन्धमा नेपाल चीन उद्योग वाणिज्य संघले निर्वाह गरेको भूमिकाको प्रशंशा गरे।
कार्यक्रममा चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)का अध्यक्ष रेन होङबिनले शुभकामना सन्देश पठाउँदै कोभिड महामारीका कारण द्विपक्षीय व्यापारमा कमी आएपनि आउँदा दिनमा पुरानै अवस्थामा व्यापार फर्कने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनसँगको वार्षिक व्यापार घाटा २ खर्ब ६३ अर्ब रुपैयाँ पुग्नुमा कोभिड महामारी, उत्तरी नाकाको कमजोर पूर्वाधारसँगै विश्वव्यापी आर्थिक मन्दी लगायतका कारणहरू रहेको बताए।
संघको २३ औं वार्षिक साधारणसभाका अवसरमा संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको छ।
निवर्तमान अध्यक्ष श्रेष्ठको कार्यकालमा नेपाली व्यवसायीले चिनियाँ मेलाहरूमा सहभागिताको अवसर पाएको र चीनका विभिन्न व्यापारिक संगठनहरूसँग सहमति गर्न सफल भएको भन्दै सम्माान गरिएको हो।