आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आयतर्फ सबैभन्दा धेरै कर बुझाउने करदाता विजयकुमार शाह बनेका छन्।
जावलाखेल डिस्टिलरीका अध्यक्ष शाहलाई राष्ट्रिय कर दिवस २०७९ को अवसरमा बुधबार आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभागले सम्मान गरेको हो।
त्यस्तैगरी, उक्त वर्ष सबैभन्दा बढी आन्तरिक राजस्व दाखिला गर्ने कम्पनी सूर्य नेपाल प्रालि बनेको छ।
सबैभन्दा बढी मूल्य अभिवेद्धि कर (भ्याट) तिर्नेमा गोर्खा ब्रुअरी प्रालि भएको छ। समयमै कर दाखिला गरेका नियमित कर सहभागिता जनाएकामध्येबाट गोर्खा ब्रुअरी छानिएको हो। कम्पनीले २०७८/७९ मा बुझाएको भ्याटको आधारमा सम्मान प्राप्त गरेको हो।
विभागले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, चिलिमे जलविद्युत् कम्पनीसहित १६ सबैभन्दा धेरै कर तिर्ने करदाता कम्पनीलाई सम्मान गरेको हो।
कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धिकर दाखिला गर्ने गोर्खा ब्रुअरी सम्मानित भएको छ।
निर्यात कारोबारतर्फ शिवशक्ति घ्यू उद्योगले सम्मान पाएको हो।
त्यस्तै, छिमेक लघुवित्त, नबिल बैंक, नोबेल मेडिकल कलेज, आइएमई लिमिटेड, नेपाल धितोपत्र विनिमय बजार, हंसराज हुलासचन्द कम्पनी, मनकामना दर्शन प्रालि, ओसिबी फुड्स, राजेश मेटल क्राफ्ट प्रालि पनि सम्मानित भएको हो।