आयात र निर्यातबीचको अन्तर थप फराकिलो हुँदै गएको छ।
कात्तिकसम्ममा एक रूपैयाँको निर्यात हुँदा आयात भने ९.७२ रूपैयाँ पुगेको छ। कात्तिकसम्ममा पाँच खर्ब ३२ अर्ब रूपैयाँको आयात हुँदा ५४ अर्ब ७७ करोड रूपैयाँको निर्यात भएको छ।
गत वर्ष कात्तिकको तुलनामा आयात १८ प्रतिशत र निर्यात ३३ प्रतिशतले घटेको छ। गत वर्ष कात्तिकमा ६ खर्ब ५० अर्ब रूपैयाँको आयात भएकोमा ८२ अर्ब १२ करोड रूपैयाँको निर्यात भएको थियो।
सो समय एक रूपैयाँ बराबर निर्यात हुँदा ७.९१ रूपैयाँको आयात भइरहेको थियो।
मुलुकको विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै राष्ट्र बैंक र सरकारले आयातमा कडाइ गरेको छ। यसले आयात घटेको हो। तर, आयातसँगै निर्यातसमेत घट्दै गएपछि आयात निर्यात अनुपात थप बढेको हो।
'यो राम्रो संकेत होइन,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, 'प्रतिबन्धित वस्तुको आयात खुला गरिने वा सहजीकरण गरिने हो भने दबाब थप बढ्न सक्छ।'
केही समयअघिसम्म नेपालबाट पाम आयल, सोयाबिन आयलको निर्यात घट्न थालेसँगै कुल निर्यातमा प्रभाव परेको हो।
निर्यात मासिक रूपमै घट्दो प्रवृत्तिमा छ। साउनको तुलनामा भदौमा निर्यात ६.३४ प्रतिशत, भदौको तुलनामा असोजमा ५.२७ प्रतिशत र असोजको तुलनामा कात्तिकमा १.४१ प्रतिशतले घटेको छ।
आयातमा भने फरक प्रवृत्ति देखिएको छ। मासिक रूपमा भइरहेको आयात असोजमा घटेपनि अन्य महिना बढ्दो प्रवृत्तिमा छ।
असोजको तुलनामै कात्तिकमा आयात ३.३७ प्रतिशतले बढेको हो। असोजमा एक खर्ब २७ अर्बको आयात हुँदा कात्तिकमा एक खर्ब ३१ अर्ब रूपैयाँ बराबरको आयात भएको छ।
सरकारले कुरकुरे, लेज लगायतमा लगाएको प्रतिबन्ध हटाएसँगै कात्तिकसम्ममा १३ करोड ८० लाख बराबरका यी सामानको आयात भएको छ।
जबकी गत वर्षको यही अवधिमा २४ करोड ८६ लाखको आयात भएको थियो।
त्यस्तै, गत वर्षको यो अवधिमा १३ करोड ७२ लाख रूपैयाँको तास भित्रिएकोमा यसपटक केही महिना प्रतिबन्ध लागेर खुला भएसँगै चार करोड ५६ लाखको तास भित्रिएको छ।
प्रतिबन्धित भएर फेरि खुला गरिएका रंगिन टेलिभिजन पनि ३१ करोड ५३ लाख बराबरको आयात भएको छ।