अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नभएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले अर्थतन्त्र नबुझ्नेले यस्तो किसिमको तर्क गरेको बताए।
‘संकटमा होइन हामीसँग चुनौतीहरू छन्। पक्कैपनि कतै दबाब कतै चाँप छ। ती चुनौतीहरूलाई सामना गर्ने उपायहरू खोज्नुपर्छ,’ उनले भने। नेपालको अर्थतन्त्रको आफ्नै मौलिकता र विशेषता भएको पनि उनले बताए।
‘यो एकैपटक उचाइमा चढिहाल्ने र एकैपटक गिर्ने खालको होइन,’ उनले भने, ‘कतै खसिहाले पनि अलिकति दूरीमा मात्रै खस्ने हो धेरै गहिराइमा पुगिहाल्ने अवस्था पनि होइन त्यसकारण यहाँ संकटको कुरा होइन संकट व्यवस्थापनका लागि छलफल गर्नुपर्छ।’
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिषंघका अध्यक्ष विष्णुकुमार अग्रवाल लगायत उद्योगीहरूले नेपालको अर्थतन्त्र संकटमा रहेको उल्लेख गरेका थिए। पछिल्लो अवस्थाका कारण उद्योगीहरूमा चरम निराशा बढेको समेत उनीहरूको तर्क थियो।