सरकार र राष्ट्र बैंकको ध्यान विदेशी मुद्रा सञ्चिति सुधारमा सीमित हुँदा मुलुकको आन्तरिक व्यवसायिक वातावरण भने खलबलिरहेको छ।
आइतबार नेपाल उद्योग परिसंघ (सिएनआई) ले सार्वजनिक गरेको एक प्रतिवेदनले मुलुकको आन्तरिक माग उच्च गिरावट आएर सिमेन्टदेखि कृषि क्षेत्रको उत्पादनमा संकुचन आएको देखाएको छ।
बजारमा माग नै घटेपछि अटोमोइल्स लगायतका क्षेत्रका कतिपय व्यवसाय नै बन्द भएका छन् भने धेरैजसोको उत्पादन समेत ६० देखि ७० प्रतिशतले घटेको व्यवसायीहरूले बताउँदै आएका छन्।
सिएनआईको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज) सम्ममा सिमेन्ट, कृषि, अटोमोबाइल, निर्माण कम्पनी, इकमर्श, तयारी फास्टफुड (एफएमसिजी), जुत्ता, खाना पकाउने ग्यास, सूचना प्रविधि तथा अन्य क्षेत्रको मागमा २८ प्रतिशतले कमी देखिएको छ।
सर्वेक्षण अनुसार कृषि क्षेत्रको मागमा ३० प्रशितले कमी आएको छ।
त्यस्तै, अटोमोबाइल क्षेत्रको मागमा ७८, सिमेन्टको मागमा ४०, निर्माण कम्पनीहरूको मागमा ४३, जुत्ताको मागमा ४५, खाना पकाउने ग्यासको मागमा १२, औषधिको मागमा १८ प्लाष्टिकका उत्पादनको मागमा ३८, घर जग्गा व्यवसायमा ५२, साना तथा मझौला उत्पादनको मागमा पनि ३३ र स्टिलको मागमा ६१ प्रतिशतले कमी आएको छ।
सिएनआईको सर्वेक्षण अनुसार इकमर्श, तयारी फास्टफुड (एफएमसिजी), सूचना प्रविधि तथा गार्मेन्ट क्षेत्रको माग भने बढेको छ।
उत्पादनको माग घटेपनि उद्योगीहरूले भने नयाँ योजना भने बनाइ रहेको सर्वेक्षणले देखाएको छ।
उद्योगीहरू अर्थतन्त्र शिथिल भयो भन्दै यसलाई जोगाउन सरकारसँग आग्रह गरिरहेका छन्।