अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १३औं वार्षिक साधरण सभामा बोल्दै शर्माले यस्तो बताएका हुन्।
उनले उत्पादन र आयातबीचको फरक छुट्याइ उत्पादनतर्फ ध्यान दिनुपर्ने बताए।
पछिल्लो आर्थिक परिस्थिति हेर्दा निर्यात गर्ने वस्तु सूचीकृत गर्दै अघि बढ्नु पर्ने उनको भनाइ छ।
जलविद्युत क्षेत्रले इन्धन आयातलाई प्रतिस्थापन गर्न सकिने पनि उनले उल्लेख गरे।
उनले भने 'आइटी क्षेत्र अघि बढ्दा वैदेशिक रोजगारीमा जाने समस्या समाधान गर्न सकिन्छ।'
त्यस्तै, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्र अप्ठ्यारोमा पर्दा ब्याजदर बढ्नु स्वभाविक भएको बताएका छन्।
कार्यक्रममा बोल्दै उनले तरलता केही सहज बन्दै गएको बताउँदै पुसमा केही असहज हुने बताए।
उनले भने 'निजी क्षेत्र प्रताडित भएकोले सबैले समस्या भोग्नु परेको छ।'
अधिकारीले निजी क्षेत्रले राष्ट्र बैंकका नितीमा हस्तक्षेप गर्न माग गरेकोमा भने असन्तुष्टी जनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारी निकायबीचको समन्वय नहुँदा ठूलो समस्या हुने गरेको बताए।
ढकालले निजी क्षेत्रले उठाएका मुद्दा निजी क्षेत्रका मात्रै नभई समग्र अर्थतन्त्रसँग जोडिएको बताएका छन्। निजी क्षेत्रमा समस्या आउँदा सर्वसाधारणलाई अप्ठेरो हुने समेत उनको भनाइ छ।
नेपाल उद्योग परिसंघका महानिर्देशक दिपकराज जोशीले विभिन्न क्षेत्रगत रूपमा समस्या पहिचान गरी अर्थतन्त्र सुधार गर्न सकिने बताए।