नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले मंगलबार बिहान भेटवार्ता गरेको छ।
सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुुभकामना दिए।
महासंघले प्रधानमन्त्री समक्ष यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको उनले सो अवसरमा स्मरण गराए।
अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालु पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव सो अवसरमा राखे।
यतिखेर अरु कुराभन्दा पनि मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरूत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिए।
अर्थतन्त्रमा बहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गरे।
अध्यक्ष गोल्छाले प्रधानमन्त्रीबाट अर्थतन्त्रको संवेदनशीलता बुुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए।
राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मुल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुँदै गएको यथार्थता सो अवसरमा राखिएको थियो।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भइसकेको जानकारी गराए।
उनले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि बताए।
'महासंघ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनुु भयो, त्यही विषयमा तपाईंहरू चिन्तित हुनुुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ' प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री प्रचण्डले महासंघकातर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन पनि गरीरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास समेत दिलाए।