नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले मंगलबार नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेका छन्।
अर्थमन्त्रालयमा भएको भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिए।
अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा धारणा समेत प्रस्तुत गरे।
उनले अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघका तर्फबाट सझाव समेत पेश गरे।
अध्यक्ष गोल्छाले उद्योग व्यवसाय संचालनमा सबैभन्दा बढी समस्याको रूपमा देखापरेको चालु पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न माग गरे।
त्यस्तै, तरलता व्यवस्थापन र ब्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव राखे।
अहिले मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले सरकारको ध्यान अर्थतन्त्रको पुनरूत्थानमा जानुपर्नेमा पनि अध्यक्ष गोल्छाले जोड दिए।
बैंकिङ समस्याका कारण उद्योगी व्यवसायी कठिन अवस्थामा पुगेको पनि उनले बताए।अर्थमन्त्री पौडेलले आफ्नो कामको सुरूआतनै महासंघको प्रतिनिधिमण्डलसँगको भेटबाट भएको बताए।
सरकार र निजी क्षेत्रबीचको सम्बन्ध आपसमा महत्वपूर्ण रहेको पनि उनले स्पष्ट पारे।
'निजी क्षेत्रको मनोवल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईंहरूको मनोवललाई उच्च बनाएर काम गर्ने मेरो प्रतिवद्धता भयो,' उनले भने।
मन्त्री पौडेलले महासंघले अगाडि बढाएको अर्थतन्त्र जोगाऔं अभियानलाई सरकारको पनि समर्थन रहेको बताए।