राष्ट्र बैंकले वृद्धि गरेको बैंक ब्याजदरको विरोधमा दाङको घोराहीमा प्रदर्शन भएको छ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारी भेला भएर घोराहीमा विरोध प्रदर्शन गरेका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा विरोध कार्यक्रम भएको हो।
व्यवसायीले विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय दाङमार्फत् राष्ट्र बैंक, नेपाल सरकार, अर्थ मन्त्रालयमा तत्काल माग सम्बोधन गर्न भन्दै ज्ञापनपत्र बुझाएको लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए।
आन्दोलनमा चेम्बर अफ कर्मस, वस्तुगत समिति र विभिन्न संघ संस्थाहरूको सहभागिता थियो।
विरोध प्रदर्शनपछि सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले राष्ट्र बैंकको ज्यादतिका विरूद्धमा चुप लागेर बस्न नसकिने बताए।
पूर्व अध्यक्ष ढकालले बैंकहरूले क्रान्तिकारी रूपमा व्यवसायीहरूलाई धम्की दिने कार्य तत्काल बन्द गर्न चेतावनी दिए। अन्यथा देशभरका सबै व्यवसायी आन्दोलनमा उत्रने उनले बताए।
महासङ्घका पूर्व उपाध्यक्ष उमेशलाल प्रधानले यो बीचमा देशमा बैंकहरूको चर्को ब्याजदरको भार थेग्न नसकेर ६ जना व्यवसायीहरूले देह त्याग गरेको बताए।
उनले ब्याजदर नघटाएमा सातै प्रदेशका अध्यक्षहरूको सहकार्यमा देशैभरि एकै पटक एउटै समयमा विरोध प्रदर्शन गर्ने तयारी गरिएको जानकारी दिए।