पछिल्लो समय छुर्पीको निर्यात उत्साहजनक रूपमा वृद्धि भइरहेको छ।
भन्सार विभागको तथ्यांक अनुसार विगत पाँच वर्षमा आठ अर्ब एक करोड रूपैयाँको छुर्पी विदेश निर्यात भएको हो।
विदेशमा कुकुर र बिरालोको खानाको रूपमा छुर्पी निर्यात भइरहेको छ।
अमेरिका, क्यानडा, बेलायत, सिंगापुर, मलेसिया लगायतका २७ देशमा अहिले कुकुर र बिरालोको खानाको रूपमा छुर्पी गइरहेको छ।
अहिलेसम्म छुर्पीको सबैभन्दा धेरै निर्यात अमेरिकातर्फ हुने गरेको छ।
निर्यात हुने छुर्पीमध्ये अमेरिकातर्फ लगभग ८३.९६ प्रतिशत जाने गरेको छ।
आर्थिक वर्ष २०७८/७९ मा कुल दुई अर्ब ९१ करोड रूपैयाँ बराबरको छुर्पी निर्यात भएकोमा अमेरिकातर्फ मात्रै दुई अर्ब ४४ करोड रूपैयाँ बराबरको छुर्पी निर्यात भएको छ।
'अहिलेसम्म अमेरिकातर्फ मात्रै छुर्पीको माग धेरै छ,' साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इनभाइरोमेन्ट (सावती)का शोधकर्ता निलु थापाले भनिन्, 'त्यसैले विकल्पहरू नखोजिने हो र केही कारणले त्यहा माग घटेको अवस्थामा यो क्षेत्र धराशायी हुनेछ।'
अमेरिकापछि अधिक छुर्पी निर्यात हुने मुलुकमा क्यानडा रहेको छ। क्यानडामा वार्षिक करिब ३१ करोड रूपैयाँ बराबरको छुर्पी गइरहेको छ।
चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्ममा) भने एक अर्ब १० करोड रूपैयाँ बराबरको छुर्पी निर्यात भएको छ।
गत वर्षको यही अवधिको तुलनामा भने यो १० प्रतिशतले वृद्धि भएको हो। यो अवधिमा अमेरिकातर्फ मात्रै ९२ करोडको छुर्पी गएको हो।
चिया निर्यातलाई उछिन्दै !
विगत पाँच वर्षमा नेपालबाट निर्यात हुने चियाबाट मुलुक भित्रिएको रकम छुर्पीको निर्यातबाट भित्रिएकोभन्दा दोब्बर छ।
पाँच वर्षको अवधिमा नेपालबाट १५ अर्ब ४९ करोड रूपैयाँको चिया निर्यात भएको छ। यो अवधिमा मात्रै आठ अर्ब एक करोड रूपैयाँ बराबरको छुर्पी निर्यात भयो।
तर, छुर्पी निर्यातको वार्षिक वृद्धिदर उच्च छ। पाँच वर्षमा छुर्पी निर्यात औसत ३६ प्रतिशतले वृद्धि हुँदा चियापत्तिको वृद्धिदर १४ प्रतिशतमा सीमित छ।
गत आर्थिक वर्ष २०७८/७९ भरीमा तीन अर्ब ४३ करोड रूपैयाँ बराबरको चियापत्तिको निर्यात भएकोमा छुर्पी निर्यात दुई अर्ब ९१ करोड रूपैयाँ छ।