खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न नेपाल चेम्बर अफ कमर्सले गृहमन्त्री रवि लामिछानेको ध्यानकर्षण गराएको छ।
गृहमन्त्री लामिछानेलाई बुधबार बधाई एवम् शुभकामना दिने क्रममा चेम्बर पदाधिकारीको टोलीले सीमामा हुने अनधिकृत व्यापार नियन्त्रणका लागि आग्रह गरेको हो।
गृहमन्त्री लामिछानेसँगको भेटका क्रममा चेम्बर अध्यक्ष रोजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए।
'नेपाल भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबार भइरहेकोे छ। सीमामा हुने अवैध व्यापारका कारण सरकारले अर्बौ रुपैयाँ राजस्व समेत गुमाइरहेको छ,' अध्यक्ष मल्लले भने।
नेपाल भारत खुला सीमाको फाइदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भइरहेको भन्दै अध्यक्ष मल्लले मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउनु पर्नेमा जोड दिए।
चेम्बरले सीमा व्यापारलाई व्यवस्थापन गर्नुपर्ने सहित विभिन्न १० बुँदे सुझाव गृहमन्त्रीलाई दिएको छ।
वैदेशिक रोजगारबाट फिर्ता हुने युवाको सीप सम्बन्धी सम्पूर्ण विवरण संकलन गरी उनीहरूको सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण मिलाउन समेत चेम्बरले आग्रह गरेको छ।
नेपालमा पछिल्लो समय बैंकिङ सफ्टवेयर ह्याक हुने, एटिएमबाट अनधिकृत रूपमा पैसा चोरी हुने लगायतका वित्तीय अपराधका घटना वृद्धि भइरहेकाले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न समेत चेम्बरले गृहमन्त्री लामिछानेलाई आग्रह गरेको छ।
आम सर्वसाधारणसँगै निजी क्षेत्र पनि साइबर अपराधको सिकार भइरहेकाले सरोकारवाला सबैसँग सुझाव लिइ, अन्तर्राष्ट्रिय अभ्यासका आधारमा साइबर सुरक्षा सम्बन्धी कानुन बनाई व्यवस्थित गर्न पनि चेम्बरले माग गरेको छ।
पर्यटन क्षेत्रका लागि रात्रीकालीन व्यवसायको महत्वपूर्ण भूमिका रहेको भन्दै चेम्बरले काठमाण्डौको ठमेल, चितवनको सौराहा तथा पोखरास्थित रात्रीकालीन व्यवसायहरू निर्वाध ढंगले सञ्चालन हुने वातावरण मिलाउन नवनियुक्त गृहमन्त्री लामिछानेको ध्यानाकषर्ण गराएको छ।
चेम्बर पदाधिकारीको भेटपछि गृहमन्त्री लामिछानेले सीमामा भइरहेको अनधिकृत व्यापार रोक्न सुरक्षा निकायलाई सचेत गराएको बताए।
नेताले संरक्षण गर्ने नभई नीतिले संरक्षण गर्ने व्यवस्थाका लागि आफू प्रयासरत रहेको गृहमन्त्री लामिछानेको भनाइ छ।
कानुनको उल्लंघन नहुने हदसम्मका लागि व्यवसायिक वातावरण बनाउन आफू प्रयासरत रहेको गृहमन्त्री लामिछानेले बताए।