मुलुकको बढ्दो व्यापार घाटा नियन्त्रण तथा दिगो आर्थिक विकासका लागि निर्यातमुखी अर्थतन्त्रको विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
सातौ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा यस क्षेत्रका विज्ञ तथा सरोकारवालाले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा निर्यातमुखी अर्थतन्त्रको विकास गर्न सकिने धारणा राखे।
नेपाल निर्यात परिषदसहित व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र भक्तपुर उद्योग वाणिज्य संघले संघले बुधबार भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले नेपाली वस्तुको उत्पादनमा विविधीकरणसँगै बजारीकरणमा पनि जोड दिनुपर्ने बताए।
सरकारले निर्यातयोग्य भनी पहिचान गरेका वस्तुसँगै निकासीको सम्भावना भएका अन्य वस्तुको पनि पहिचान गर्दै निकासी बढाउनु पर्ने उनको भनाइ छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका नायव कार्यकारी निर्देशक सुयश खनालले निर्यात व्यापारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै कारणले कमी आएको उल्लेख गर्दै वस्तु विविधीकरणमार्फत यसलाई बढाउन सकिने धारणा राखे।
निर्यात परिषदका अध्यक्ष रेशम बहादुर पोखरेलले स्थापनाकालदेखि नै परिषद्ले सरकारसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरी निर्यात प्रवर्द्धनको माध्यमबाट देशको बढ्दो व्यापार घाटालाई कम गर्न अथक प्रयास गरिरहेको बताए।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारहरुमा देखापरेका विविध समस्याहरूको कारण नेपाली वस्तुहरूको उत्पादन तथा निकासीमा समेत प्रत्यक्ष असर परेको बताए।
यस्तै, सरकारलाई नेपालको बढ्दो व्यापार घाटाको वर्तमान अवस्था र देशको व्यापार सन्तुलन कायम गर्न आयात प्रतिस्थापन हुने गरी निर्यात वृद्धि गर्न समेत उनले आग्रह गरे।
कार्यक्रमका सहभागी व्यवसायीहरूले नेपालमा उत्पादित वस्तुहरूको प्रतिष्पर्धा क्षमता अभिवृद्धि गरी निर्यात प्रवर्द्धनको माध्यमवाट सम्पूर्ण नेपाली वस्तुहरूको निर्यातमा उल्लेख्य वृद्धि गर्ने लक्ष्य रहनुपर्ने धारणा राखे।
निकासी व्यापारमा संलग्न उद्यमी, व्यवसायीहरूको उद्योग प्रतिष्ठानहरूमा स्वास्थ्य सुरक्षा, निर्यात प्रवर्द्धनलगायत अन्य विविध पक्षहरूमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी निर्यात बढाउन उनीहरूले माग गरे।
हाल निर्यात वृद्धिका समस्याका रूपमा रहेका चर्को हवाई भाडा, दक्ष जनशक्तिको कमी, तरलताको अभाव सहित चर्को बैंकिङ ब्याजदर तथा नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटलाई हटाउन माग गरिएको छ।
निर्यात वढाउनको लागि सरकारले नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटको अन्त्यसहित निर्यात योग्यवस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत दरमा कृषि सरह बैंकिङ ब्याज उपलब्ध गराउनु पर्ने माग परिषदले गरेको छ।
यस्तै, नेपाली वस्तुहरूलाई छिमेकी मुलुकहरूसँग प्रतिस्पर्धी बनाउन निर्यातमूलक उद्योग व्यवसायको लागि कम्तीमा पनि १० वर्षसम्म विभिन्न प्रकारका छुट सुविधा उपलब्ध गराउनु पर्ने तथा विभिन्न देशहरूमा रहेका नेपाली दूतावासहरू र कूटनीतिक नियोगहरूमार्फत नेपालका निर्यात योग्य वस्तुहरूको व्यापक रूपमा प्रचार–प्रसार गराउने एवम् विश्वव्यापी मान्यता प्राप्त आधुनिक ल्याबको स्थापना गर्ने माग परिषदको रहेको छ।
परिषदको २५औं वार्षिक साधारण सभा एवम् सातौ निर्यात दिवसका अवसरमा पुस २१ र २२ गतेका दिन छायाँ सेन्टर, ठमेलमा नेपाली निकासीयोग्य वस्तुहरूको बृहत मेला तथा प्रदर्शनीको आयोजना गरिने भएको छ।