नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने बताएका छन्।
राजस्व संकलन लगायत अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमको अवस्थामा रहेको भन्दै अध्यक्ष मल्लले अर्थतन्त्र उकास्ने जिम्मेवारी निजी क्षेत्रको पनि भएको बताए।
तिलोत्तमा चेम्बर अफ कमर्सको नवौ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष मल्लले भने, 'उत्पादन वृद्धि गरेर निर्यात प्रवर्द्धन, औद्योगिक लगानीमार्फत रोजगारी सिर्जना गर्नका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्न जरुरी छ।'
पछिल्लो समय राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको अध्यक्ष मल्लले बताए। लक्ष्य अनुसार राजस्व संकलन नहुँदा चालु खर्च धान्न पनि सरकारलाई मुस्किल परिरहेको मल्लको भनाइ छ।
भन्सार राजस्व प्रभावकारी नहुँदा पनि राजस्व लक्ष्य अनुसार उठ्न नसकेको अध्यक्ष मल्लले बताए।
भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने अध्यक्ष मल्लले बताए।
नेपाल भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबार भइरहेको भन्दै अध्यक्ष मल्लले सीमा व्यवस्थापन हुने वित्तिकै कम्तीमा ४० प्रतिशत राजस्व वृद्धि हुने उनको भनाइ छ।
आयातलाई व्यवस्थित गरेर निर्यात प्रवर्द्धन गर्नका लागि सरकारसँग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको समेत अध्यक्ष मल्लले बताए। सरकारले करको दायरा फराकिलो पारेर राजस्व प्रणालीलाई चुस्त बनाउनु पर्नेमा उनले जोड दिए।
कर राजस्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको अध्यक्ष मल्लले बताए।
अनुशासित व्यवसाय, पारदर्शी कर प्रणाली सम्बन्धमा निजी क्षेत्र सदैव प्रतिवद्ध रहेको अध्यक्ष मल्लको भनाइ छ।
आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि सरकारसँग हातेमालो गर्न आफूहरू तयार रहेको अध्यक्ष मल्लले बताए।
खुद्रा पसलदेखि होलसेलसम्मै बिल बिजकको व्यवस्थालाई अनिवार्य रूपमा कार्यन्व्यनमा ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।