राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकहरूले नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिनुपर्ने बताएकी छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) को तेस्रो वार्षिक साधारण सभाका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्वावलम्बी एंव आत्मनिर्भर अर्थतन्त्र निर्माणको खाँचो रहेको औंल्याइन्।
उनले उद्यमशिलता विकासमा अझैं धेरै काम गर्नुपर्ने औंल्याइन्।
'हामीले स्वदेशमै उत्पादन वृद्धि गरी निर्यात बढाउनुपर्ने देखिन्छ। यसमा नेपाल सरकारले सहयोग गर्न जरुरी छ,' उनले भनिन्।
लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न परिसंघको निकै महत्वपूर्ण भूमिका हुने विश्वास उनले व्यक्त गरिन्।
बैंकहरूले भोग्नु परेका समस्यालाई समाधानतर्फ लैजानु पर्ने आवश्यक भण्डारीले औंल्याइन्। जसमा निजी क्षेत्र र सरकार एक अर्कको परिपूरक बन्नु पर्ने उनको तर्क छ।
पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले पछिल्लो एक दशकमा वित्तीय प्रणालीमा विकास भएको बताएका छन्। उनले बैंकमा पैसा राख्दा डुब्दैन भन्ने विश्वास दिलाए।
'डिजिटलमा धेरै प्रगति भएको छ। बैंकको पुँजी बढेको छ। पुँजी बजारमा धेरै सुधार नगरेको भए डिम्याट खाता ५० लाख बढी हुने थिएन,' उनले भने।
एक दशक अघि सरकारी बैंक घाटामा रहेको पनि उनले बताए। आफू अर्थमन्त्री हुँदा ल्याएको नीतिका कारण नाफामा भएको खतिवडाले दाबी गरे।
लाइसेन्समा गरिएको कडाइले बैंक सबल बनेको उनको भनाइ छ। त्यस्तै वित्तीय सारक्षता कार्यक्रमले बैंकिङ पहुँच बढेको उनले उल्लेख गरे।
‘सानो निक्षेप बीमा कार्यक्रमले महत्वपूर्ण काम गरेको छ। कृषि क्षेत्रमा जाने कर्जा बढेको छ,’ उनले भने।
पुँजी वृद्धिको कारण बैंकहरू लगानी गर्न सक्षम भएको उनको भनाइ छ।
गभर्नर महाप्रसाद अधिकारीले विश्व आर्थिक मन्दीमा गएर त्यसको संकेत नेपालमा पनि दखिएको बताए।
मूल्य स्थिरता कायम गर्नु पर्ने औंल्याउँदै बाह्य क्षेत्र र वित्तीय स्थिरता कायम गर्नुपर्ने चुनौती रहेको उनले बताए।
'यसमा सबै निकाय लाग्नु पर्नेछ। केही सुधार हुँदै गएको भए पनि चुनौती अझै धेरै छ,' उनले भने।