जापानको सत्तारूढ पार्टी ‘लिबरल डेमोक्रेटिक’ का सांसद तथा पूर्व राज्यमन्त्री तैरा मासाकीसहितको टोलीले नेपालका पूर्व प्रधानमन्त्रीहरूसँग छलफल गरेको छ।
नेपाल–जापान सम्बन्धलाई अझै दरिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको यो टोलीले बिहीबार नेकपा अध्यक्ष केपी शर्मा ओली तथा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी छलफल गरेको हो।
यो जापानी टोली गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा टिबिआई पब्लिकेसन्सका अध्यक्ष भवन भट्टको निमन्त्रणमा आएको हो।
ओली निवास बालकोट र एकीकृत समाजवादी पार्टीको कार्यालयमा बिहीबार भएका छुट्टाछुट्टै भेटमा सांसद तथा पूर्व राज्यमन्त्री मासाकीले दुई मुलुकबीच आर्थिक साझेदारी सहितको सम्बन्धलाई झनै बलियो बनाउनुपर्नेमा जोड दिएका थिए। यस्तै उनले नेपालमा पर्यटन, जलस्रोत लगायतका क्षेत्रको विकासका लागि लगानी गर्ने उच्च सम्भावना रहेको आफूले पाएको पनि बताए।
पछिल्ला वर्षहरूमा जापानमा जनसंख्या वृद्धिदर घटिरहेको बताउँदै जापानी प्रतिनिधि सभाका सांसद मासाकीले जापानमा दक्ष जनशक्तिको माग रहेको जानकारी दिए।
‘अहिले केही नेपाली नागरिकले जापानमा काम गरिरहेको अवस्था छ,’ उनले भने, ‘आगामी दिनमा नेपालबाट दक्ष जनशक्तिलाई पनि काम गर्न जाने मौका छ।’
मासाकीले जापानमा नेपाली कामदार र दक्ष जनशक्ति भित्र्याउन आफूले संसदमा आवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
अध्यक्ष ओलीले आफू जापान जाँदा त्यहाँ देखेको विकास, संमृद्धि र संस्कृतिका बारेमा स्मरण गरेका थिए। नेपालको कृषि, जलस्रोत, पर्यटनलगायत पूर्वाधार विकासका लागि जापानले धेरै सहयोग गरेको भन्दै उनले सरहाना पनि व्यक्ति गरे।
‘नेपालका विकास साझेदारहरूमध्ये बिनासर्त सहयोग गर्ने मुलुक धेरै कम छन्,’ ओलीले भने, ‘त्यसमध्ये कुनै पनि सर्त नराखेर सहयोग गर्दै आएको मुलुक जापान हो। म यसका लागि धेरै धन्यवाद दिन चाहन्छु।’
ओलीले देश अहिले विकास र समृद्धिको बाटोमा लागेको र यसका लागि धेरै वित्तीय स्रोत आवश्यक पर्ने भएकाले विगतमा जस्तै आगामी दिनमा पनि जापानले सहयोग जारी राख्नेमा आफू आशावादी भएको बताए।
यस्तै अर्का पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले नवीनतम प्रविधि र सीपका लागि जापान संसारमा नै सबभन्दा माथि रहेको भन्दै यस्तो प्रविधि र सीप नेपालमा भित्र्याउन सहयोग गर्न जोड दिए।
नेपालले दुई मुलुकबीचको राजनैतिक, सामाजिक र आर्थिक सम्बन्ध धेरै पुरानो र मजबुत रहेको भन्दै आगामी दिनमा पनि यसलाई कायम राख्न यस्ता भेटघाट महत्वपूर्ण हुने बताए।
दुवै भेटका अवसरमा पब्लिकेसन्सका अध्यक्ष भट्टले नेपाल र जापानको ऐतिहासिक सम्बन्ध, यसबाट दुवै मुलुकले पाइरहेको सहयोग लगायतका विषयमा जानकारी गराएका थिए।
जापानमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएका अध्यक्ष भट्टले दुई मुलुकबीचको लामो सम्बन्धलाई आगामी दिनमा विकासको साझेदारका रूपमा विकसित गर्न सके नेपालले झनै फाइदा लिन सक्ने बताए।
तीन दिने भ्रमणमा आएको टोलीले शुक्रबार निजी क्षेत्रसहित अन्य विशिष्ट व्यक्तिहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम छ।