अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकार समस्याग्रस्त बनेको अर्थतन्त्रको डियलसिस गरिरहेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
'भूकम्पले ढाल्न नसकेको, कोभिडले समस्यामा पार्न नसकेको समस्या अहिले किन आयो भनेर गम्भीर विश्लेषण गर्नुपर्ने अवस्था आएको छ', उनले भने,'राजस्व संकलन, पुँजीगत खर्च नबढ्ने जस्ता क्षेत्रमा अहिले चिन्ताजनक अवस्थामा हामी छाैं।'
सरकार अनुत्पादक क्षेत्रको खर्च कटौतीमा रहेको अनुभूति दिने प्रयासमा रहेको बताए।
नेपाल चम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले २०८२ पछि पुराना ग्राहकलाई चालू पुँजी कर्जा लागू हुने गरी गरिएको व्यवस्था ठिक भएपनि ठूला र साना सबैले कारोबारको ४० प्रतिशत पाउने व्यवस्था हटाउनु पर्ने बताए।
उनले अहिले जस्तो कसैलाई कारोबारको २० प्रतिशत कसैलाई ४० प्रतिशत कर्जा प्राप्त हुने व्यवस्था हटनुपर्ने पनि बताए।
अहिलेको मौद्रिक नीति, अर्थनीतिले होटेल व्यवसायीलाई राहत नदिएको भन्दै होटेल व्यवसायी विनायक साहले पनि अब बनेको सरकारले समस्या समाधानको लागि अर्थमन्त्रीलाई आग्रह गरे।
कार्यकममा नेपाल हाउजिङ एण्ड ल्याण्ड डेभलपरका अध्यक्ष इच्छा वाग्लेले बैंकहरूले ग्राहकले राख्ने धितोको ३० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था हटाउनु पर्ने बताए।
उनले कम्तीमा ५० प्रतिशत लगानी गर्नसक्ने व्यवस्थाको माग गरे। यसले अर्थतन्त्र चलायमान हुने उनको दाबी छ।