उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन्।
'पुँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक छ,' अर्थ मन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा मन्त्री पौडेलले भने।
राजस्व परिचालनमा कडाइका साथ प्रस्तुत भएर पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएर काम गर्न उनले निर्देशन दिए।
सरकारको स्रोतबाट खर्च हुने सबै शीर्षकहरूमा छुट्याइएको रकम सोही शीर्षकमा मात्र खर्च गर्न, चालु प्रकृतिका खर्च निरूत्साहित गर्न, अनिवार्य दायित्वबाहेक कुनै पनि शीर्षकमा थप बजेट माग नगर्न आग्रह गर्दै उनले शोध भर्ना लिने कार्यलाई प्राथमिकता दिन पनि निर्देशन दिए।
यस्तै पुँजीगत खर्च तोकिएको परियोजनामा समयमा सम्पन्न गर्न, स्वीकृत दरबन्दी बाहेकमा कुनै पनि किसिमको दायित्व सिर्जना हुने गरी जनशक्ति व्यवस्था नगर्न उनले निर्देशन दिएका छन्।
असुल उपर गर्ने उल्लेख भएका बेरूजु यथाशीघ्र असुल उपर गर्न निर्देशन दिँदै उनले आगामी बजेट निर्माण गर्दा स्थानीय तथा प्रदेश सरकारले सञ्चालन गर्ने स्तरका साना योजना समावेश नगरी अध्ययन पूरा भएका, राष्ट्रिय स्तरमा प्राथमिकतामा परेका, राष्ट्रिय उत्पादनमा योगदान दिने, रोजगारी सिर्जना गर्ने र उच्च प्रतिफल दिने आयोजनालाई प्राथमिकता दिन आग्रह गरे।
राजस्व परिचालनमा रहेका बेथितिका शृंखला टुटाउन गृह प्रशासनको समेत सहयोग लिएर राजस्व प्रशासन अघि बढ्ने उल्लेख गर्दै उनले राजस्व परिचालनलाई प्रभावकारी बनाउन सहयोग पुर्याउन सम्बन्धित मन्त्रालयका सचिवहरूलाई निर्देशन दिए।
वैदेशिक स्रोत परिचालनमा पनि कमजोरी रहेको उनले बताए। अनुदान र ऋण परिचालनका लागि अर्थ मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने र त्यसमा तदारूकता लिएर काम गर्न निर्देशन दिए।
यस्तै वैदेशिक सहयोगलाई परिणाममुखी र उपलब्धिमूलक बनाउन प्राप्त सहयोगलाई उत्पादनशील क्षेत्रमा लगानी हुने गरी नीति तथा कार्यक्रम समावेश गर्न पनि निर्देशन दिए।
अर्थ मन्त्रालयका सचिव तोयम रायाले मितव्ययिता र खर्च कटौती सम्बन्धी कार्य अर्थ मन्त्रालयले सुरू गरिसकेको र अन्य मन्त्रालयले समेत कार्यान्वयन गर्ने अपेक्षा गर्दै नियमित प्रकृतिका काममा थप बजेट नमाग्न आग्रह गरे।
राजस्व सचिव डा. रामप्रसाद घिमिरेले राजस्व चुहावट नियन्त्रणमा सबै निकायले सहयोग गर्न, राजस्व छुट माग गर्ने विषयमा गम्भीर हुन तथा गैरकर राजस्व संकलनमा सक्रियताका लागि अनुरोध गरे।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले २०७९ पुससम्म राजस्वको लक्ष्य छ खर्ब ५१ अर्व ६१ करोड रूपैयाँ रहेकामा चार खर्ब ९० अर्ब ४ करोड रूपैयाँ संकलन भएको जानकारी दिए। पुँजीगततर्फ पुस मसान्तसम्म १ खर्ब ८० करोड रूपैयाँ बजेट विनियोजन भएकोमा ५३ अर्ब ४५ करोड रूपैयाँ खर्च भएको छ। चालुतर्फ ५ खर्ब ९४ अर्ब रूपैयाँ विनियोजन भएकोमा ४ खर्ब ५५ अर्ब रुपैयाँ १२ करोड रूपैयाँ खर्च भएको पनि उनले जानकारी दिए।
यस्तै वित्तीयतर्फ एक खर्ब ९ अर्ब ९० करोड रूपैयाँ विनियोजन भएकोमा ६७ अर्ब ७६ करोड रूपैयाँ खर्च भएको छ।
कार्यक्रममा पुँजीगत खर्च बढी विनियोजन भएका १२ वटा मन्त्रालयका सचिवहरू उपस्थित थिए।