अमेरिकी सर्ट सेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले गत साता भारतीय व्यवसायी गौतम अदानीमाथि जालसाजीको आरोप लगाउँदै रिपोर्ट निकालेको थियो। उक्त रिपोर्ट सार्वजनिक भएसँगै अदानीको लगानी रहेका कम्पनीहरूको सेयरको भाउ तीव्र रूपमा ओरालो लाग्न थालेको छ।
यसले अदानीको कुल सम्पत्तिको मूल्य घटेको छ। बिहीबार बिहानसम्मको कारोबारअनुसार अदानी इन्टरप्राइजेजअन्तर्गतका सात कम्पनीको मूल्य एक सय अर्ब डलरले घटेको हो।
अदानी इन्टरप्राइजेज, अदानी पोर्ट र स्पेसल इकोनोमिक जोन, अदानी टोटल ग्यास, अदानी ग्रिन इनर्जी, अदानी ट्रान्समिसन लगायत कम्पनीको मूल्य १०-१० प्रतिशतका दरले घटेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ। अदानी पावर र अदानी विलमारको मूल्य भने ५ प्रतिशत घटेको छ।
फोर्ब्सले सार्वजनिक गर्ने संसारकै धनाढ्यहरूको सूचीमा तेस्रो स्थानमा रहेका अदानी पछिल्लो घटनाक्रमपछि लगातार ओरालो झरिरहेका छन्। अहिले उनी उक्त सूचीको १६औं नम्बरमा आइपुगेका छन्। भारत र एसियाकै धनीसमेत रहेका अदानीको स्थान अब मुकेश अम्बानीले लिएका छन्। बिहीबारको फोर्ब्स अर्बपति सूचकांकअुनसार अदानीको सम्पत्तिमा २७ प्रतिशत गिरावट आइसकेको छ।
गौतम अदानीले कोइला, बिजुली प्रसारणदेखि बन्दरगाह र विमानस्थल व्यवस्थापनमा समेत ठूलो लगानी गरेका छन्। केही समयअघि मात्र उनले भारतको चर्चित मिडिया एनडिटिभी किनेका थिए।
हामी अब गौतम अदानीमाथि हिन्डेनबर्ग रिसर्चले लगाएको आरोप के हो भन्ने हेरौं।
हिन्डेनबर्गले 'अदानी ग्रुपः हाउ द वर्ल्ड्स थर्ड रिचेस्ट म्यान इज पुलिङ द लार्जेस्ट कन इन कर्पोरेट हिस्ट्री' नामको रिपोर्ट २४ जनवरीमा प्रकाशन गरेको थियो।
यो रिपोर्टमा गौतम अदानी नेतृत्वको समूहलाई ८८ वटा प्रश्न सोधिएको बिबिसीले जनाएको छ।
अदानी ग्रुपले आफ्ना कम्पनीहरूको सेयर मूल्य कृत्रिम रूपमा बढाएर लगानीकर्तासँग छल गरेको उक्त रिपोर्टमा छ। विदेशमा रहेका आफ्ना कम्पनीहरू कर छल्नमा प्रयोग गरेको पनि रिपोर्टमा उल्लेख छ।
त्यस्तै अदानी समूहले आफ्नो सम्पत्तिको मूल्य वास्तविकभन्दा बढाइचढाइ गरेको, आफूले कम्पनीहरू खडा गरेका देशको कानुन पालना नगरेको आरोप पनि लगाइएको छ। स्विट्जरल्यान्डको एक बैंकले अदानी समूहका कम्पनीहरूको बजार मूल्य शून्यमा झारिदिएको पनि रिपोर्टमा छ।
हिन्डेनबर्गको रिपोर्टअनुसार कर छुट पाइने देशहरूमा अदानीका थुप्रै नक्कली कम्पनी छन्। ती भनेका मोरिसस र अरू क्यारेबियन मुलुक हुन् जहाँ पैसा जम्मा गर्न वा व्यापार गर्न रकमको स्रोत खुलाउन पर्दैन। ती देशमा करको दर पनि धेरै कम हुन्छ। कतिपय अवस्थामा त कर तिर्नै पर्दैन।
गौतम अदानीका भाइ राजेश अदानीलाई ग्रुपको प्रबन्ध निर्देशक किन बनाइएको भन्ने प्रश्न पनि उठाइएको छ। राजेशविरूद्ध भन्सार छली, आयातसँग जोडिएका नक्कली कागजात तयार पारेको र अवैध रूपमा कोइला व्यापार गरेको आरोप छ।
अदानीका बहिनी-ज्वाइँ समीर वोरा कम्पनीको मुख्य पदमा किन छन् भन्ने प्रश्न पनि उठेको छ। समीरको नाम बेनामी कम्पनीमार्फत् हीरा कारोबार गरेको प्रकरणमा जोडिएको थियो।
त्यस्तै, अदानीका अर्का भाइ विनोदमाथि पनि सरकारी निकायहरूको जाँच चलिरहेको छ। उनले विदेशमा नक्कली कम्पनी खडा गरेर अदानीको कम्पनीमा अर्बौं डलर लगानी गरेको आरोप छ।
हिन्डेनबर्गले लगाएका आरोपसँगै भारतको केन्द्रीय बैंकले अदानी समूहमा भएको लगानीको विवरण पठाउन स्थानीय बैंकहरूलाई निर्देशन दिएको बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
रिपोर्ट सार्वजनिक हुनेबित्तिकै अदानी ग्रुपका सेयरधनीबीच खलबली र तनाव मच्चिएको छ। धेरैले हतारहतार आफ्नो सेयर कम भाउमा बेच्न थालेका छन्। यसबाट अदानी ग्रुपका सेयरधनीहरूले करौडौं रूपैयाँ गुमाएका छन्।
हिन्डेनबर्गको रिपोर्टले अदानी इन्टरप्राइजेज लिमिटेडको सार्वजनिक सेयर बिक्री (एफपिओ) मा समेत असर पारेको छ।
अदानी समूहले जनवरी २७ मा खुद्रा (रिटेल) लगानीकर्ताका लागि बोलकबोलमार्फत् सेयर बिक्री गर्ने भनेको थियो। बीस हजार करोड भारू बराबरको एफपिओ जारी गर्ने भनिए पनि पछिल्लो घटनाका कारण स्थगित भएको छ। यो भारतकै सबभन्दा ठूलो एफपिओ थियो।
हिन्डेनबर्गको रिपोर्ट आएपछि लगानीकर्ताहरूले उक्त एफपिओमा खासै चासो दिएनन्। कुल निष्कासित एफपिओको १२ प्रतिशत मात्र खरिद भएपछि भारतकै विभिन्न व्यापारिक घरानाहरू उनलाई सहयोग गर्न अघि सरेका थिए। तर अन्तिममा आएर अदानीले एफपिओ नै स्थगित गरेका छन्। उनले लगानी गरिसकेकाहरूको पैसा पनि फिर्ता दिने भनेका छन्।
गौतम अदानीले एक भिडिओमार्फत् भनेका छन्, 'असाधारण अवस्था र बजारको उतारचढावलाई ध्यानमा राख्दै कम्पनी आफ्ना सेयरधनीहरूको हित सुरक्षित गर्न चाहन्छ। हाम्रो एफपिओ खरिद गर्न शतप्रतिशत प्रतिबद्धता आइसकेको भए पनि सेयरधनीको हितका लागि हामीले यसलाई रद्द गर्ने निर्णय गरेका छौं। लगानीकर्ताहरूको रकम हामी फिर्ता गर्ने छौं।'
यो घोषणापछि अदानी समूहको अवस्था धेरै नै बिग्रेको अनुमान लगाइएको छ। अदानीले एफपिओ फिर्ता गर्नुका पछाडि धेरैले यही हिन्डेनबर्ग रिपोर्टलाई कारणका रूपमा औंल्याएका छन्।
अदानी ग्रुपले भने रिपोर्टमा उल्लिखित विवरणहरू निराधार भएको जनाएको छ।
ग्रुपका सिएफओ जुगेशिन्दर सिंहले यो रिपोर्ट प्रकाशन गर्नुअघि ग्रुपसँग कसैले कुनै प्रकारको सम्पर्क नगरेको बताएका छन्। त्यस्तै तथ्यहरू प्रमाणीकरणको प्रयास पनि नगरिएको उनको भनाइ छ।
गौतम अदानी र उनको ग्रुपका कानुनी विभाग प्रमुख जतिन जालुंधवालाले पनि हिन्डेनबर्गको रिपोर्ट खण्डन गरेका छन्। यदि हिन्डेनबर्ग यो मामिलामा गम्भीर हो भने अमेरिकी अदालतमै आउन उनले चेतावनी दिएका छन्।
हिन्डेनबर्ग आफ्नो रिपोर्टमा अडिग छ। ट्विटरमा जवाफ दिँदै हिन्डेनबर्गले भनेको छ, 'अदानीले अहिलेसम्म एउटा पनि जवाफ दिएका थिएनन्। लागेकै थियो, उनले धम्कीको बाटो रोज्छन्, रोजे। अदानीले दुई वर्ष लगाएर बनाइएको हाम्रो रिपोर्टलाई बिनाअनुसन्धानको भने। उनले हामीविरूद्ध अमेरिकी र भारतीय कानुनअनुसार कारबाही गर्ने तयारी गरेको पनि बताए।'
हिन्डेनबर्गले थप भनेको छ, 'जहाँसम्म कम्पनीले हामीलाई कारबाही गर्ने धम्की दिएको छ, हामी त्यसको स्वागत गर्छौं, किनभने हामी आफ्नो रिपोर्टमा अडिग छौं। अदानी पनि गम्भीर छन् भने उनले अमेरिकामा मुद्दा दायर गर्नुपर्छ। हामीसँग दस्तावेजहरूको लामो सूची छ। कानुनी प्रक्रियाका क्रममा हामी उनीसँग जवाफ माग गर्नेछौं।'
सन् २०१७ मा अमेरिकाको न्यूयोर्कमा स्थापित कम्पनी हिन्डेनबर्गलाई पनि धेरैले प्रश्न गरेका छन्- कतै उसले नाफा कमाउन यो काम गरेको त होइन? नभए अदानीले सेयर जारी गर्ने बेला ठ्याक्कै यो रिपोर्ट किन सार्वजनिक गरियो?
हिन्डेनबर्गमाथि यसरी प्रश्न उठ्नुको कारण यो एक 'एक्टिभिस्ट सर्ट सेलिङ' कम्पनी भएर हो। यो भनेको सेयर किनबेच गर्ने कम्पनी हो। उसले सेयरको 'सर्ट सेलिङ' गर्छ। आफ्नो स्वामित्वमा नभएको सेयर बिक्री गर्ने प्रक्रियालाई सेयर बजारमा सर्ट सेलिङ भनिन्छ।
अब तपाईंहरू आफूसँग हुँदै नभएको सेयर कसरी बेच्ने भन्नुहोला। यो प्रक्रियालाई यो उदाहरणबाट बुझ्न सकिन्छ।
यदि एक सर्ट सेलरलाई सय रूपैयाँको सेयर घटेर ६० रूपैयाँसम्म पुग्छ भन्ने यकिन भयो भने उसले ब्रोकरसँग सेयर उधारो लिन्छ। त्यसपछि उक्त सेयर ती व्यक्तिहरूलाई बेच्छ जो सय रूपैयाँमै किन्न राजी हुन्छ। यसरी उसले सेयरको मूल्य ६० रूपैयाँमा झरेपछि ४० रूपैयाँ नाफा कमाउँछ।
आफैं सेयर किनबेच गर्ने अमेरिकी कम्पनीले आफूमाथि 'निराधार' आरोप लगाएको भन्दै गौतम अदानीले यसलाई 'भारतमाथिकै हमला' भनेका छन्।
अदानी राजनीतिक रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट मानिन्छन्। मोदी गुजरातको मुख्यमन्त्री हुँदा उनकै छत्रछायामा अदानीको उदय भएको थियो।
(टाइम्स अफ इन्डिया, बिबिसी, रोयटर्स लगायत विभिन्न सञ्चारमाध्यमका सहयोगमा तयार पारिएको)