बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश राजधानी हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो नाका हेटौंडा–भीमफेदी–फाखेल–काठमाडौं सडक मर्मत दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री जमकट्टेलले यातायात बन्द गरेरै भए पनि भैंसे–भीमफेदी र हुमाने–फर्पिङ सडकखण्डको काम सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन्। सो कार्यका लागि वैकल्पिक सडकको प्रयोग गर्नुपर्दा यातायात व्यवसायीलाई सरकारले निःशुल्क रूट परमिटको व्यवस्था गर्नुको साथै परमिटको म्याद नाघेमा जरिवाना नलिने उल्लेख गर्दै उनले व्यवसायीलाई भाडादर यथावतै राख्न आग्रह गरे।
'वैकल्पिक सडकका रूपमा कान्ति लोकपथ र थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन गर्नुपर्छ,' मुख्यमन्त्री जमकट्टेलले भने।
भीमफेदी–भैंसे सडकखण्ड (११ किलोमिटर), हुमाने फर्पिङ सडकखण्ड (७.५ किमी), दक्षिणकाली–छैमले सडकखण्ड (८ किमी) र छैमले– सिस्नेरी सडकखण्ड (११ किमी) को निर्माण कार्य तीव्र रूपमा सम्पन्न गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिए।
प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले निर्माण कम्पनीलाई आवश्यक सहयोग गर्ने तर काममा ढिलासुस्ती गरेको पाइएमा कारबाही गर्ने बताए।
यसैबीच मुख्यमन्त्री जमकट्टेलले मर्मत तीव्र रूपमा गर्न हेटौंडा–भीमफेदी–फाखेल–काठमाडौं सडक आगामी फागुन १ गतेबाट बन्द गरिने बताएका छन्। उनका अनुसार करिब दुई महिनाभित्र हेटौंडाबाट काठमाडौं जाँदा कुलेखानी–चित्लाङ सडक तथा फर्कदा कान्तिलोकपथ सडक प्रयोग गर्ने गरी मर्मतको काम हुने भएको छ।