चालु आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको बजेटको आकार सरकारले घटाएको छ।
तत्कालीन अर्थमन्त्रीको जर्नादन शर्माले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब रूपैयाँको बजेट ल्याएका थिए। नयाँ सरकारले बजेटको आकार १४ प्रतिशतले घटाएको हो। आइतबार प्रतिनिधि सभामा बजेटको मध्यावधि समीक्षा प्रतिवेदन पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार घटाइएको जानकारी दिएका हुन्।
अब बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड हुने भएको छ। यो पहिलाको बजेटभन्दा २ खर्ब ४४ अर्बले कम हो।
सरकारले जेठमा बजेट ल्याउदा चालु खर्च ११ खर्ब ८३ अर्ब गर्ने भनेकोमा त्यो १० खर्ब २१ अर्ब हुने अपेक्षा गरेको छ। त्यस्तै, पुँजीगत खर्च तीन खर्ब ८० अर्ब विनियोजन भएकोमा तीन खर्ब १३ अर्ब ५० करोड खर्च हुने संशोधित अनुमान छ। वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब २१ करोड बजेट विनियोजन भएकोमा २ खर्ब १४ अर्ब २१ करोड खर्च हुने संशोधित अनुमान छ।
नेपाल सरकारको स्रोतमध्ये राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ४१ अर्ब, वैदेशिक अनुदानतर्फ ३५ अर्ब ४५ अर्ब, वैदेशिक ऋण एक खर्ब ७० अर्ब ५३ करोड ९४ लाख खर्च हुने संशोधित अनुमान छ।
चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले संघका लागि १२ खर्ब ९५ अर्ब र स्थानीय र प्रदेश तहमा बाँडफाँट हुने सहित भने कुल १४ खर्ब तीन अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। सरकारले बजेट स्रोतको रूपमा चालु आर्थिक वर्ष २०७९/८० मा ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान, दुई खर्ब ४२ अर्ब वैदेशीक ऋण र दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो।
पौडेलले चालु आर्थिक वर्ष २०७९/०८० मा मुलुकको आर्थिक वृद्धिदर लक्ष्यअनुसार आठ प्रतिशत नपुग्ने बताएका छन्।
उनले कोभिडको समयमा लिइएको सहजीकरणमा समयमै उचित निर्णय लिन नसक्दा अहिले समस्या परेको बताए।
२०७९ पुससम्ममा राजश्वको लक्ष्य ६ खर्ब ५१ अर्ब रहेकोमा सोअनुसार संकलन नभएको उनले बताए।
‘लक्ष्यभन्दा राजश्व २४.८ प्रतिशतले कम संकलन भएको छ,’ उनले भने। आर्थिक वर्ष २०२४/२५ पछि पहिलो पटक राजस्व नकारात्मक वृद्धिदर देखिएको पनि अर्थमन्त्री पौडेलले बताए।
राजस्व प्रशासन तथा प्रणालीमा सुधार गर्न पर्ने विगतदेखि नै देखिएको भए पनि यसो हुन नसकेको र आफूले मन्त्रालयको जिम्मेवारीमा आउनासाथ यसलाई उच्च प्राथमिकतामा राखेको पौडेलले बताए।
उनले हाल सार्वजनिक दायित्व बेहोर्न र ऋणको साँवा-ब्याज भुक्तानी गर्न समस्या परेको बताए।
कृषि र पर्यटनमा सुधार हुने देखिए पनि उत्पादनमूलक क्षेत्रमा समस्या देखिएकाले पनि अर्थतन्त्रमा समस्या कायमै रहेको अर्थमन्त्री पौडेलले बताए। यद्यपि अर्थतन्त्रका विभिन्न सूचकमा सुधार भइरहेको उनको भनाइ छ।
यो पनि हेरौं, 'निर्मम' रूपमा घटाइँदैछ यसपालिको बजेट आकार
४८ वर्षयता पहिलो पटक राजस्व घट्ने संकेत