सेयर बजारका खेलाडी लघुवित्त संस्थामा प्रवेश गरेपछि यी मध्ये केही संस्थामा समस्या आउन थालेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले बताएका छन्।
पछिल्लो समय लघुवित्तहरूमा समस्या देखिन थालेसँगै आर्थिक पत्रकार समाज नेपाल (सेजन) ले सोमबार आयोजना गरेको एक कार्यकम उनले यस्तो बताएका हुन्।
उनले सबै लघुवित्तमा नभई करिब ५ देखि १० प्रतिशतमा मात्र समस्या आएको बताए।
लघुवित्तको ऋण तिर्दिन भन्नु जायज नहुने बताउँदै नेपालले वास्तवमै समस्यमा रहेका ऋणीहरूको समस्या समाधानमा राष्ट्र बैंकले भूमिका खेल्ने पनि जानकारी दिए।
उनले वित्तीय संरचनामा कुनै सदस्यले लिएको ऋण उसैको कुनै साथीको निक्षेप समेत हुने भएकोले ऋण नतिर्ने भन्ने पक्षमा कोही जान नहुने समेत स्पष्ट पारे।
पछिल्लो समय राष्ट्र बैंकले एक/एक लघुवित्तका विवरणहरू हेरेर समाधानको लागि प्रक्रिया अगाडी बढाएको समेत नेपालले कार्यक्रममा जानकारी दिए।