नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि जथाभावी नबोल्न व्यवसायीहरूलाई आग्रह गरेका छन्।
शुक्रबार पर्वत उद्योग वाणिज्य संघको ४७ औं स्थापना दिवस तथा ४०औं वार्षिक साधारण सभामा वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीहरूले भोटका लागि गैरजिम्मेवार रूपमा चर्को र जथाभावी बोल्न नहुने बताएका हुन्।
'हामीले हुललाई खुसी पार्न व्यावहारिक रूपमा सम्भव नहुने त्यस्ता केही लोकप्रिय कुरा गर्न सक्छौं। तपाईं हामीले चुनावमा भोटका लागि यस्ता मिठा मिठा कुरा त गरौंला। तर भोलि यसलाई कसरी निष्कर्षमा पुर्याउने भन्ने बारेमा पनि हामीले सोच्नुपर्ने हुन्छ,' उनले भने।
चुनावी एजेन्डा बनाउने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा विचार गर्न पनि व्यवसायीहरूलाई उनले आग्रह गरे।
कोभिड र रूस–युक्रेन युद्ध लगायत समस्याले गर्दा नेपालको मात्र नभई विश्व अर्थतन्त्रमै समस्या देखिएको बताउँदै उनले अब विस्तारै धेरै कुरा सकारात्मक हुँदै गएको उल्लेख गरे।
'अर्थतन्त्र अप्ठ्यारोमा थियो। तर अहिले सुधारोन्मुख छ,' उनले भने, 'विस्तारै धेरै कुरामा सुधार देखिन सुरू भएको छ। जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि नहडबडाइ निरन्तर सेवा प्रदान गर्ने हामी व्यवसायीहरूको इतिहास छ। हामी धेरै निराश हुनु हुँदैन। यसले हामी आफैंलाई समस्यामा पार्छ।'
आफू एउटा बैंकको सञ्चालक भएको नाताले धेरै ठाउँमा पटकपटक बैंकको ब्याजदरको विषय उठाउने गरेको बताउँदै उनले धेरै व्यवसायीलाई कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्र ब्याजदर परिवर्तन हुने भ्रम रहेको बताए।
'धेरै व्यवसायी साथीहरूलाई भ्रम छ कि म वा कुनै एउटा बैंकको सञ्चालकले घटाइदिने हो भने ब्याजदर घट्न सक्छ। यसले त्यसो नगरेर यसले बैंकको मात्र पक्षपोषण गरेको छ। तर म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंक वा बैंकको सञ्चालकको चाहनाले मात्र परिवर्तन हुने र गर्न सकिने कुरा होइन। म आफैंलाई पनि ब्याजदर घट्दा हुने फाइदा मैले बैंकबाट पाउने लाभांशभन्दा धेरै गुणा बढी हुन्छ,' उनले भने।
वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगरका व्यवसायीहरूको हक, हित र संरक्षणका लागि आफूहरू लागिरहेको र निरन्तर लागि रहने प्रतिबद्धता समेत व्यक्त गरे।
'हाम्रो निरन्तर प्रयासले धेरै नीतिगत कुरामा सुधार ल्याएका छौं। यसका लागि हामी फेरि पनि निरन्तर लाग्ने नै छौं,' उनले भने।