जी २० अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिन भारत गएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भारत र चीनका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
सम्मेलनकै क्रममा भारतका वित्त मन्त्री निर्मला सीतारमण र चिनियाँ वित्त मन्त्रालयका उपमन्त्री वाङ दङवैसँग भेटवार्ता गरेको अर्थ मन्त्री पौडेलको सचिवाललले जनाएको छ।
भारतको बैंग्लुरूमा आयोजित जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर मन्त्री पौडेल आज नेपाल फर्कँदै छन्।
जी २० का अर्थमन्त्रीहरूको सम्मेलन १२ र १३ गते भएको थियो। सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन ११ गते भारत गएका थिए।
नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो।