चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ०.८ प्रतिशत मात्रैले वृद्धि भएको छ।
केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पहिलो त्रैमासको विवरणमा आर्थिक वृद्धिदरमा संकुचन देखिएको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो।
माग र आपूर्तिमा आएको गिरावट र कर्जा विस्तारमा कमी आउँदा त्यसको प्रभाव आर्थिक वृद्धिदरमा देखिएको छ।
यस वर्षको पहिलो ३ महिनामा खानी क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको छ। गत वर्षको तुलनामा यो वर्ष खनिज क्षेत्रको उत्पादन २९ प्रतिशतले घटेको छ। त्यस्तै निर्माण क्षेत्र २४ प्रतिशतले ऋणात्मक भएको छ।
कृषि क्षेत्रको वृद्धिदर १.६ प्रतिशत कायम भएको छ भने अन्य सेवा क्षेत्रको उत्पादन ऋणात्मक भएको छैन।
गत आर्थिक वर्षका चार वटै त्रैमासमा कुल गार्हस्थ्य उत्पादन सकारात्मक रहेको थियो। पहिलो त्रैमासमा ३ प्रतिशतले बढेको अर्थतन्त्र अन्तिम त्रैमासमा ९ प्रतिशतको वृद्धि देखिएको थियो। तर यो वर्षको सुरूमै ०.८ प्रतिशतको वृद्धिदर देखिएको छ।
गएको आर्थिक वर्षको अन्तिम त्रैमासको तुलनामा यो वर्षको पहिलो त्रैमासमा भने अर्थतन्त्र ऋणात्मक भएको छ।
२०७८/७९ को अन्तिम त्रैमासको तुलनामा यो वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र १.२१ प्रतिशतले ऋणात्मक भएको हो।
चालु वर्षको सुरूदेखि नै बजारमा प्रायः सबै क्षेत्र प्रभावित भएका छन्। बैंक तथा वित्तीय संस्थाको सेवाबाहेक अन्य सबै क्षेत्रमा मन्दी देखिएको थियो।
सरकारले चालु आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरेकोमा राष्ट्रिय योजना आयोगले हालै ४.२ प्रतिशतको वृद्धिदर कायम हुने अनुमान गरेको छ।