नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखिएको बताएका छन्।
बुधबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले आयोजना गरेको सिइओ वर्कशपमा बोल्दै श्रेष्ठले भने, ‘मुलुकको अर्थतन्त्रको तेस्रो खम्बाको रूपमा सहकारीलाई स्वीकार गरिएपनि त्यो व्यवहारमा देखिएन।’
उनले उत्पादनमा आत्मनिर्भर हुन सहकारीले सघाउनुपर्ने तर त्यसको परिणाममा नदेखिएको बताए। सहकारी संघ-संस्थाहरूले समेत बैंकले जस्तै घरजग्गामा, धितो पत्र बजारमा लगानी गर्दा समस्या आएको उनको भनाई हो।
‘सहकारीको लगानीको प्राथमिकता प्राप्त क्षेत्र कुन हो? सहकारीको मूल्य मान्यता बचतकर्तालाई झन् गरिब बनाउने भन्ने त होइन होला। कहाँ लगानी गर्दा सुरक्षित र अझ बढी उत्पादनमुखी हुन्छ भन्नेतिर संस्थाले सोच्ने हो,’ उनले भने।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको मात्र होइन सहकारीको पैसा समेत सेयर बजारमा गएको हुनसक्ने आशंका कार्यकारी निर्देशक श्रेष्ठले व्यक्त गरे।
श्रेष्ठले कोभिडपछिको विश्व परिदृश्य र रुस र युक्रेनबीचको युद्धले निम्त्याएको आर्थिक संकटले समेत नेपाली अर्थतन्त्र समस्यामा परेको बताए।
पोस्ट कोभिडले 'इकोनोमी रिकभरी' भए पनि रुस-युक्रेनको युद्धले असर गरेको उनको भनाइ छ।
विश्व आयात-निर्यातको चेनमा प्रभाव परी नेपालको आयात घट्दा राजस्व पनि गुमेको उनले बताए। तर रेमिटेन्स, विदेशी लगानी आउन सके अर्थतन्त्र चलायमान हुने उनको ठहर छ।
श्रेष्ठले पछिल्लो समय मुलुकको वित्तीय स्थितिमा निक्षेपको वृद्धिदर बढेको तर कर्जाको वृद्धिदर घटेको बताए। उनका अनुसार सहकारीमार्फत कृषिजन्य उत्पादन हुन नसकेको तर ऋण लिएर घरजग्गा र सेयर बजारमा लगानी गर्ने परिपाटी बढेको छ।
सहकारीमा स्वःनियमन नभएकाले समस्या उब्जनी भएको उनको भनाइ छ। यसकारण केही ऐन ल्याएर सहकारीको अनुगमन नियमन गर्नुपर्नेमा उनले जोड दिए।