करिब ८८ अर्ब ३१ करोड लगानीमा बुढीगण्डकी 'क' र बुढीगण्डकी 'ख' दुई आयोजना निर्माण गरिने भएको छ।
नौलो नेपाल हाइड्रोइलेक्ट्रिक प्रालिले बिहीबार एक सूचना जारी गर्दै दुई आयोजना निर्माण गर्ने जानकारी गराएको हो।
कम्पनीले दुई आयोजना निर्माणका लागि ८८ अर्ब ३१ करोड २७ लाख रुपैयाँ लागत अनुमान गरेको छ। कम्पनीका अनुसार बुढीगण्डकी 'क' जलविद्युत आयोजनाबाट १०३ मेगावाट बिजुली उत्पादन गरिनेछ।
वर्षायाममा प्रतियुनिट ४ र सुख्खायाममा पिकिङ अवधिका लागि प्रतियुनिट १०.५५ र नन-पिकिङ अवधिका लागि प्रतियुनिट ८.४० रुपैयाँ आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद-बिक्रीदर तोकेको छ।
आयोजनाबाट कुल प्रतिघण्टा ५४१.३७ गिगावाट बिजुली उत्पादन हुनेछ। यसबाट वर्षायाममा प्रतिघण्टा १७ करोड ६ लाख किलोवाट र सुक्खायाममा प्रतिघण्टा ३६ करोड ७ लाख किलोवाट बिजुली उत्पादन गर्नेछ। उक्त आयोजना निर्माणका लागि कम्पनीले ३१ अर्ब ३२ करोड १ लाख रुपैयाँ लागत खर्च हुने अनुमान छ।
कम्पनीले बुढीगण्डकी 'ख' जलविद्युत आयोजनाबाट २२६ मेगावाट बिलुजी उत्पादन गर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणबाट आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद-बिक्री दर पनि तोकेको छ। जसमा उक्त आयोजनाबाट उत्पादन हुने बिजुलीको खरिद तथा बिक्री मूल्य बुढीगण्डकी 'क'को बराबर नै तोकेको छ।
आयोजनाबाट प्रतिघण्टा १,२१४.१२ गिगावाट बिजुली उत्पादन हुनेछ। त्यस्तै, आयोजनाबाट वर्षायाममा प्रतिघण्टा ३७ करोड ७३ लाख किलोवाट, सुक्खायाममा प्रतिघण्टा ८३ करोड ६६ लाख किलोवाट बिजुली उत्पादन हुनेछ। आयोजना निर्माणका लागि कम्पनीले ५६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ खर्च हुने अनुमान छ।
आयोजनाको सार्वजनिक सुनुवाइ चैत ९ गते हुने भएको छ। विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाइमा सम्बन्धित सबै सरोकारवालालाई उपस्थित हुन समेत आह्वान गरेको छ।