नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताएका छन्।
सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामूलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले विश्वका अन्य मुलुकहरूमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृत्ति रहेको बताए।
उनले मुद्रालाई बचत गर्न जरुरी रहेको भन्दै बचतबाट नै आम्दानी बढ्ने दाबी गरे।
गभर्नर अधिकारीले मानिसहरूसँग भएको रकम बचत नगरे पनि खर्च हुने भएको भन्दै बचत गर्न अनिवार्य रहेको बताए।
उनले राष्ट्रिय वचतको अनुपात आधारमा हेर्दा बचतको रेट कमजोर रहेको जानकारी दिए।
त्यस्तै गनर्भर अधिकारीले सेयरमा लगानी गर्नु पनि बचत भएको भन्दै सेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्न सक्ने बताए।
उनले नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेको समेत बताए।
उनले भने, '२०५२ सालमा कुनै कम्पनीको मूल्यांकन विश्लेषणको लागि लिएको १० कित्ता सेयरले अहिले लाखौं लाखको सम्पत्ति बनाइदिएको छ। हामीले फ्रासफुल्ली गरेको बचतको नेपाल रेट राम्रो छ। १० वर्षमा दोब्बर हुने खालका रेटहरू छन्। त्यो बचतले काम गर्छ। त्यसैले बचत अत्यन्तै जरुरी छ।'
गनर्भर अधिकारीले थपे 'त्यो रकम कतै बचत नगरेपनि खर्च गरेर जान्छ। बचत अनिवार्य हो। नेपाल सग्रममा कम बचत गर्ने देशमा पर्छ। तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी खर्च गर्छौं। राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको रेट एकदमै कमजोर छ।'
अधिकारीले भने 'आम्दानी बचतबाट नै गरिने हो। आम्दानी गर्दा बचत योजनाको छनोट र बैंकमा उपलब्ध सेवा हेर्नुपर्छ।
विश्वव्यापी मुद्रा सप्ताह राष्ट्र बैंकले अभियानको रुपमा अगाडि बढाउन गइरहेको छ। एक हप्ता थप सिक्ने र मुद्रालाई सहि सदुपयोग गर्ने जीवनलाई सहज र सुरक्षित बनाउन सहयोग पुर्याउने छ।'
आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुस् भन्ने नारासहित सोमबारदेखि ग्लोबल मनी विक–२०२३ सुरू भएको छ। ग्लोबल मनी विकको यो ११औं संस्करण हो।
नेपाल राष्ट्र बैंकले अभियानको पहिलो दिन उपत्यकास्थित विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ।
नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, सहकारी विभागका का.मु. रजिष्ट्रार टोलराज उपाध्याय, राष्ट्र बैंकका उच्च अधिकारीलगायतको उपस्थिति थियो।
चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामुलक कार्यक्रमहरू सञ्चालन हुनेछन्।
नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन्।
यस अभियानअन्तर्गत बैंकिङ/वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन्।
उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवर्द्धन र वित्तीय पहुँच विस्तार भई स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ।