भारतीय सिमेन्ट उद्योगमा नेपाली क्लिङ्करको माग बढ्न थालेको छ। क्लिङ्कर सिमेन्ट उद्योगले प्रयोग गर्ने प्रमुख कच्चा पदार्थ हो।
फागुन महिनामा मात्रै नेपालले भारतका विभिन्न सिमेन्ट उद्योगमा एक लाख १४ हजार ६३८ क्विन्टल क्लिङ्कर पठाएको छ। फागुनमा नै २३ हजार ७०९ टन तयारी सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
चालु आर्थिक वर्षको पहिलो महिनाबाट नै तयारी सिमेन्टको निर्यात सुरू भएकोमा क्लिङ्करको निर्यात भने असोजबाट मात्रै भएको थियो। असोजदेखि माघ महिनासम्म १० करोड ६३ लाख रुपैयाँ क्लिङ्कर निर्यात भएकोमा फागुनमा मात्रै आठ करोड ७७ लाख ४१ हजार रुपैयाँ बढेको छ।
असोजदेखि फागुनसम्म १९ करोड ४१ लाख १८ हजार क्लिङ्कर निर्यात भएको छ।
तथ्यांक स्रोत भन्सार विभाग
क्लिङ्करको तुलनामा तयारी सिमेन्टको निर्यात भने कम देखिएको छ। चालु वर्षको पहिलो महिनामा नै ४९ लाख २९ हजार रुपैयाँको तयारी सिमेन्ट निर्यात भएकोमा साउनमा फागुनसम्म ११ करोड १४ लाख २६ हजार रुपैयाँको निर्यात पुगेको छ।
क्लिङ्कर र सिमेन्ट गरेर आठ महिनाको अवधि साउनदेखि फागुनसम्म ३० करोड ५५ लाख ४४ हजार रुपैयाँको निर्यात भएको थियो।
चालु आर्थिक वर्षको बजेटबाट सिमेन्ट तथा क्लिङ्कर निर्यातमा आठ प्रतिशत नगद अनुदान दिएपछि पहिलोपटक निर्यात सुरू भएको थियो।
एकै आर्थिक वर्षमा सिमेन्ट तथा क्लिङ्करले नेपालको कुन निर्यातमा शून्य दशमलव २९ प्रतिशतको योगदान गरेको छ।
फागुनसम्म नेपालले एक खर्ब चार अर्ब ७९ करोड रुपैयाँको निर्यात गरेको छ।
अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले नेपाली सिमेन्ट उद्योगीले क्रमशः निर्यात बढाउँदै लगेको बताए।
'शून्य निर्यात रहेकोमा चालु वर्षबाट सुरू गरिएको छ, यो क्रमशः बढ्दै गएको छ' उनले भने ‘यसै महिना अर्घाखाँची सिमेन्टले मात्रै एक लाख बोरा सिमेन्ट पठाउँदै छ।'
सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुव थापाले सहज वातावरण हुँदा नेपाली सिमेन्ट उद्योगले वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात गर्न सक्ने क्षमता राख्ने बताउँछन्। हालसम्म नेपालले अधिकतम दुई खर्ब रुपैयाँको मात्रै निर्यात पुर्याएको छ।
विगतमा तेस्रो मुलुकबाट आयात भएर भारत निर्यात गरिएको पाम तेल तथा भटमास तेलको योगदान ४० प्रतिशतसम्म रहेको थियो ।
चालु वर्षमा वनस्पति घ्यु तेलको निर्यात घटेको पनि नेपाली वस्तुको निर्यात भने बढेको छ।