नेपाल उद्योग परिसंघ (सिएनआई) को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल सर्वसम्मत चयन भएका छन्।
परिसंघका पूर्वअध्यक्षहरूसहितको गभर्निङ काउन्सिल बैठकले अग्रवालको नाम सर्वसम्मत चयन गरेको हो।
अग्रवाल हाल परिसंघमा उपाध्यक्षमा थिए भने वरिष्ठ उपाध्यक्ष छनौट गरिएको थिएन। उनी अबको दुई महिनाभित्रै परिसंघको अध्यक्ष बन्ने भएका छन्।
गभर्निङ काउन्सिलबाट वरिष्ठ उपाध्यक्ष छनौट हुने र वरिष्ठ उपाध्यक्ष नै आगामी अध्यक्ष हुने व्यवस्था रहेको अग्रवालले जानकारी दिए।
अग्रवालको आरएमसी ग्रुप डन्डी, सिमेन्ट, फलाम, खाद्य उद्योगका साथै बैंक तथा बिमा क्षेत्रमा आबद्ध छ।
परिसंघ अध्यक्षको दुई वर्ष कार्यकाल रहन्छ। हालका अध्यक्ष विष्णु अग्रवालले २०७८ साउनमा पदभार ग्रहण गरेका थिए। यस हिसाबले राजेश अग्रवाल केही महिनाभित्रै अध्यक्ष बन्ने छन्। परिसंघले साधारण सभाको मिति भने टुंग्याइसकेको छैन।