बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेपछि शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बुटवल शाखा कार्यालय ‘१५ दिन बन्द रहने’ सूचना टाँसेको थियो।
कार्यालय खुल्ने प्रतीक्षामा रहेका बचतकर्ताहरू अनिश्चितकालका लागि कार्यालय बन्द हुने अर्को सूचना टाँसिएपछि मर्माहत भएका छन्।
गत कात्तिकदेखि नै उक्त सहकारी कार्यालयमा बचत फिर्ता माग्नेको भिड लागेको थियो। भिडभाडमै कार्यालय सञ्चालन गरे पनि गत फागुन ८ गते ‘कार्यालय १५ दिन बन्द हुने’ सूचना टाँसिएको थियो।
उक्त सूचनामा संस्था ‘मर्जर प्रक्रियामा रहेकाले फागुन ८ गतेदेखि २३ गतेसम्म पुँजी व्यवस्थापनका लागि आर्थिक कारोबार बन्द हुने’ उल्लेख गरिएको थियो।
अध्यक्ष सुशील बानियाँकै हस्ताक्षरमा सूचना टाँसिएपछि बचतकर्ताले धैर्य गरे।
केही बचतकर्ताहरू फागनु २३ गते कार्यालय पुग्दा मूल गेटमा ताला लागेको थियो। भोलिपल्ट २४ गते पनि कार्यालय खुलेन।
एकाएक २५ गते ‘२३ गतेदेखि कार्यालय सञ्चालन गर्ने भनिएकोमा सञ्चालक समितिहरू विभिन्न शाखाहरूको सहजीकरणमा रहेकोले अर्को सूचना नआउँदासम्म कार्यालय बन्द रहने’ सूचना टाँसियो।
बचतकर्ताहरूका अनुसार यसपछि सहकारीका सञ्चालकहरू सम्पर्कविहीन छन्।
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ। बुटवल शाखामा कम्तीमा २२ सय बचतकर्ता छन्। उनीहरूले दैनिक र मासिक बचत गरेका थिए।
धेरैजसो बचतकर्ताहरू रकम फिर्ता लिन चाहन्छन्।
शिव शिखरले बुटवल उपहामहनगर–१०, योगीकुटीमा रकम जम्मा गर्ने काउन्टरसँगै डिपार्टमेन्टल स्टोर्स पनि सञ्चालन गरेको थियो।
२०६९ साल असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिव शिखरले ‘गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर्स’ मार्फत् देशका विभिन्न ठाउँमा व्यावसायिक कारोबार सञ्चालन गर्दै आएको थियो।
यो सहकारी २०७८ साउनमा बुटवल आएको थियो।
हाल सहकारीको काउन्टर र डिपार्टमेन्टल स्टोर्स दुबै एक महिनादेखि बन्द छन्।
यसअघि रकम फिर्ता लिन चाहने बचतकर्ताले डिपार्टमेन्टल स्टोरबाट सामान लैजाने सुविधा पाएका भए पनि बजारको भन्दा दोब्बर बढी मूल्य लिएको उनीहरूको गुनासो थियो।
सहकारीबाट रकम फिर्ता पाउने छाँटकाँट नदेखिएपछि बचतकर्ताले बिहीबार भेला आह्वान गरेका थिए।
बुटवलकी सीता मरासिनीका श्रीमान नेपाली सेनामा थिए। गत वर्ष सेवानिवृत्त भएपछि एकमुष्ट प्राप्त गरेको २२ लाख रुपैयाँ दुबैले सल्लाह गरेर शिव शिखर सहकारीमै जम्मा गरेका थिए।
सहकारी सञ्चालकहरू सम्पर्कविहीन भएपछि आफूहरूको विचल्ली भएको सीताले बताइन्।
बुटवलकै देवीनगरमा किराना पसल चलाउँछिन् पवित्रा भण्डारी। उनले मासिक १० हजार रुपैयाँका दरले गत पुससम्म १ लाख २० हजार रुपैयाँ बचत गरेकी छन्। उनी यो रकमले पसल बढाउन चाहन्थिन्।
बुटवलकै कृष्णाकुमारीले ७५ हजार रुपैयाँ जम्मा गरेकी छन्। उनले गत माघमा २५ हजार रुपैयाँको चेक पाइन् तर बैंकमा साटिएन।
सहकारी कार्यालय रहेको भवन अगाडि योगीकुटी चोकमै ठेलामा फलफूल बेच्ने मञ्जु बानियाँले दैनिक एक–दुई सय गर्दै एक वर्षमा ४० हजार रुपैयाँ जम्मा गरेकी थिइन्।
छोरी बिरामी भएर अस्पताल भर्ना गर्दा पनि उनले पैसा फिर्ता पाइनन्।
मञ्जुजस्तै सरस्वती न्यौपानेले एक वर्षमा ६७ हजार जम्मा गरेकी थिइन्।
तिलोत्तमा नगरपालिकाको शंकरनगर वनबाटिकामा पसल चालाउने माधव घिमिरले एक वर्षमा ५६ हजार रुपैयाँ जम्मा गरेका थिए।
बुटवलका भीमबहादुर थापा ३० हजार रुपैयाँ बुझाएर सहकारीको शेयर सदस्य बने। मासिक बचत साढे एक लाख रुपैयाँ पुगेको छ।
बुटवलका व्यापारी प्रमोद गुभाजुले सहकारीमा १० लाख रुपैयाँ बचत गरेका छन्।
यी केही प्रतिनिधि बचतकर्ताहरू हुन्।
सहकारीमा जोखिममा परेको थाहा पाएपछि गत दसैँदेखि बचतकर्ताहरूले रकम फिर्ता लिन खोजेका थिए। उनीहरूले केही दिन पाँच हजारदेखि २५ हजार रुपैयाँसम्मको सीमा तोकेर चेक पाएका थिए।
भुक्तानी दिन नसकेपछि सहकारीले आफ्नो गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरबाट निश्चित रकमको सामान दिने गरेको थियो। एक महिनादेखि यो पनि बन्द छ।
बचतकर्ताहरू एकमुष्ट नभए किस्तामा भए पनि बचत फिर्ता लिन चाहन्छन्।
सहकारीहरूको नियमन हुन नसक्दा आफूहरू ठगीमा परेको बचतकर्ताहरूको गुनासो छ।
लुम्बिनी प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार सहकारीको मर्मबाहिर गएर बचतकर्ताको रकममा चलखेल गर्ने सहकारीमाथि सरकारले कानुनी प्रक्रिया अघि बढाएको छ।
यो पनि:
शिव शिखर सहकारीका सञ्चालकलाई कुरिरहेकाहरू...