विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको लागि नेपाललाई विश्व बैंकले करिब १६ अर्ब रुपैयाँ दिने भएको छ।
नेपालको शिक्षा क्षेत्रमा सहायता स्वरुप १५ अर्ब ८४ करोड रकम सहयोग गर्ने भएको हो।
गत शुक्रबार बसेको विश्व बैंकको कार्यकारी निर्देशकको बोर्डले शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमको कार्यानवयनमा सहयोग स्वरुप १२० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत गरेको हो।
नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको कार्यान्वयनमा सहयोग स्वरुप यो अनुदान स्वीकृत भएको विश्व बैंकले जानकारी गराएको छ।
'गुणस्तरीय शिक्षामा लगानी भनेको मानव पुँजीको विकासका लागि महत्वपूर्ण हो, जुन बृहत्तर प्रतिफल र आर्थिक वृद्धि सुनिश्चित गर्नेका लागि आवश्यक हुन्छ,' माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले भने, 'यो कार्यक्रमले नयाँ संघीय राज्यको महत्वकांक्षा पूरा गर्न शिक्षाको गुणस्तर र समतामुलक पहुँच बढाउने नेपाल सरकारको प्रयासलाई सहयोग पुर्याउने छ।'
विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम नेपाल सरकारको विगतका विद्यालय शिक्षा क्षेत्रका कार्यक्रमहरुमा आधारित छ।
स्थानीय सरकारस्तरबाट शिक्षक निर्देशन प्रणाली स्थापना गरि विषयगत शिक्षकहरु सुनिश्चित गर्ने र गुणस्तरीय शिक्षामा बढी ध्यान केन्द्रीत गर्ने यो कार्यक्रमको लक्ष्य रहेको छ।
यो कार्यक्रमले आधारभूत सिपको विकास गर्दै देशभरमै राष्ट्रिय एकीकृत पाठ्यक्रमलाई लागू गर्नमा केन्द्रीत गर्ने बताइएको छ।
कोभिड-१९ र अन्य विविध कारणले विद्यालय बन्द हुँदा अध्ययन तथा सिकाइमा भएको क्षतिलाई कम गर्दै यो अनुदानमार्फत सरकारको कार्यक्रमलाई सहयोग गर्ने र शिक्षा क्षेत्रलाई पुर्नउत्थान तथा तीव्र गतिमा सिकाइलाई अघि बढाउने लक्ष्य लिइएको विश्व बैंकले जनाएको छ।