आगामी चैत २९ गतेबाट नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल हुनेछन्। रेमिट, बैंक, पर्यटन तथा सेवा क्षेत्रमा अग्रणी उद्यमी ढकाल अहिले महासंघको वरिष्ठ उपाध्यक्ष छन्।
वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने महासंघको विधान छ। विधानअनुसार ढकाल अध्यक्ष हुने निश्चित भए पनि पदाधिकारी तथा कार्यसमितिमा को-को आउँछन् भन्ने टुंगो छैन। ढकालले भने सहज ढंगले आफ्नो कार्यकाल सफल बनाउन सहमतिबाट कार्यसमिति बनाउने प्रयास सुरू गरेका छन्।
महासंघको चुनावी साधारण सभा २०७६ चैतमा हुनुपर्ने थियो। त्यही समय कोभिड संक्रमण बढेर निर्वाचन मिति सर्दै गयो। वरिष्ठ उपाध्यक्षको तयारीमा रहेका ढकालले यहीबीच महासंघको अध्यक्ष बन्ने आफ्नो सपना पूरा गर्न उद्यमी र व्यवसायीसँग निरन्तर सम्पर्कमा थिए।
२०७७ असोज ११ गते उनलाई पनि कोभिड संक्रमण देखियो। नियमित समय चैतमा र सारिएको समयमा साउनमा समेत निर्वाचन हुने नसकेपछि मंसिरमा निर्वाचन गर्न सरकारले पनि सहमति दिएको थियो।
निर्वाचनको तयारी गरेका ढकाल कोभिडकालमा पनि फोन, भाइबर, ह्वाट्सएपबाट जस्ता माध्यमबाट सम्पर्कमा रहिरहे। अधिक फोन वार्ता गर्दा आराम नपुगेर उनको स्वास्थ्यमै प्रतिकूल अवस्था आयो।
'महासंघको नेतृत्वमा पुग्ने मेरो आकांक्षा थियो। त्यही समयमा कोभिड आयो। साथीहरूसँग विभिन्न माध्यमबाट सम्पर्कमै बसेँ। तर धपेडी धेरै भएर कोरोनाले कसो लगेन!' ठट्यौली शैलीमा उनले भने।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था भएकाले ढकालले साढे दुई वर्षपहिले नै अध्यक्षका लागि भोट मागे। मतदाताले पनि उनलाई अनुमोदन गरे।
अध्यक्ष भएपछि अब सहमतिबाट कार्यसमिति बनाउने उनको आकांक्षा छ। आफ्नो कार्यकाल विवादरहित र स्वर्णिम बनाउने चाहना भएकाले सम्भव भएसम्म सहमतिबाट कार्यसमिति बनाउन खोजेको उनले बताए।
'प्रयास गर्दा सफल भइन्छ भन्ने लाग्छ। सबै प्रदेशमा सहमतिबाट नेतृत्व आएको छ। केन्द्रमा पनि सहमति प्रयास गर्छु,' ढकालले भन्छन्, 'निजी क्षेत्र एक ढिक्का छ भन्ने सन्देश पनि दिनु छ। यसका लागि एक/दुई दिनमा सबै आकांक्षीसँग बसेर सल्लाह गर्छु।'
सहमति बनाउन अहिलेसम्म आफू कुनै टिममा नदेखिएको उनले बताए।
महासंघले चैत २१ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ।
हालसम्म वरिष्ठ उपाध्यक्षका आकांक्षी अन्जन श्रेष्ठले पदाधिकारीसहित आफ्नो टिम घोषणा गरेका छन्। अन्जन हाल महासंघमा उपाध्यक्ष छन्। उनले जिल्ला नगर उपाध्यक्षमा अरूणराज सुमार्गी, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ सुब्बा र वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधानसहितको टिम तयारी गरेका छन्। अब सदस्य सहितको पूर्ण टिम घोषणा गर्ने तयारीमा उनी छन्।
त्यस्तै हालका उपाध्यक्ष रामचन्द्र संघाइले पनि वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन्। उनी पनि आफ्नो प्यानल घोषणाको तयारीमा छन्।
पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठको पनि वरिष्ठ उपाध्यक्षमा दाबी छ। उनले पनि टिम बनाएर नै निर्वाचन प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन्।