तपाईं आफूले दिनरात खोजिरहेको वस्तु पाउँदा कस्तो आनन्द महशुस गर्नुहुन्छ?
मुद्रा संकलन क्रममा हुने दौडधुपपछि आफूले खोजिरहेको पुरानो मुद्रा फेला परे सुखद अनुभूति हुने केही वर्षदेखि मुद्रा संकलनमा लागेका २४ वर्षीय सौगात महर्जन ज्यापु बताउँछन्।
हजुरबुवाको सानो ट्यांकामा महेन्द्रकालीन रूपैयाँ भेटेपछि मुद्रा संकलनमा लागेका महर्जन आइटीका विद्यार्थी हुन्।
मुद्रा संकलन उनको सौख हो। काल्पनिक संसारझैं लाग्ने यो सौख पछ्याउन सामान्य चाहनाले सक्दैन। सिक्काको खोजीमा ठाउँठाउँ भौंतारिँदा पनि आफूले खोजेको नपाउँदा कतिपटक महर्जनलाई आफू कतै अलमलिएको त छैन भन्ने लाग्थ्यो। यति गर्दा पनि खोजेको सिक्का पाइयो भने खरिद गर्न पुँजी जुटाउन सहज हुँदैन। किनभने, त्यसका लागि सानोतिनो पुँजीले पुग्दैन।
'राष्ट्र बैंक स्थापना भएयता हरेक गभर्नरको हस्ताक्षर भएको नोट संकलन गर्न कम्तीमा ४-५ लाख लाग्छ,' महर्जनले भने, 'सिक्कासहित गर्दा १२-१५ लाख रूपैयाँ लाग्छ।'
हरेक वर्ष निस्कने नयाँ कट्कट् नोटका सबै संस्करण जम्मा गर्ने हो भने त ३०-४० लाख नै लाग्ने उनको भनाइ छ।
महर्जन यो क्षेत्रका नवआगन्तुक हुन्। मुद्रा संकलनमै दुई-तीन पुस्ता बिताएका परिवार पनि भेटिन्छन्। यस्तैमध्ये एक हुन्, दुर्गाभक्त छुछोन।
'मेरो बुवा १४ वर्षको उमेरदेखि मुद्रा संकलनमा लाग्नुभयो, मैले पनि १८ वर्षअघि यसको सुरूआत गरेँ,' ६८ वर्षीय छुछोन भन्छन्।
उनका अनुसार मुद्रा संकलकहरू इतिहास वक्ता पनि हुन्। आफूले संकलन गरेका मुद्राबारे उनीहरूसँग यथेष्ट जानकारी हुन्छ।
आफूसँग रहेको चक्रवर्येन्द्र मल्लका नामको सिक्का देखाउँदै छुछोन भन्छन्, 'यी राजा जम्मा चार दिनलाई गद्दीमा बसेका थिए। यिनैले सर्वसाधारणका लागि पहिलोपटक रानीपोखरी खुला गरेका थिए।'
उनले यस्ता मल्लकालीन सिक्कालाई अलग्गै फ्रेमिङसहितको डायरीमा राखेका छन्।
'मसँग यस्ता केही मुद्रा छन्, जुन एउटैको २५ देखि ४० हजार रूपैयाँसम्म पर्छ,' छुछोन थप्छन्। आकृतिहरू सबै सग्लो रहेका सिक्काको ४० हजार र केही मेटिएकाको २०-२५ हजार पर्ने उनी बताउँछन्।
अहिले चलनचल्तीमै रहेका मुद्राको मौद्रिकबाहेक कुनै मूल्य हुँदैन। तर जब त्यही मुद्रा इतिहास बताउने अवस्थामा पुग्छ त्यसले मौद्रिक मूल्यभन्दा कयौं गुणा मूल्य पाउन थाल्छ।
'राष्ट्र बैंकमा गभर्नर नियुक्त हुनुअघि तीन जनासम्म खजान्ची थिए,' महर्जन भन्छन्, 'पहिलो खजान्ची जनकराज पण्डितको हस्ताक्षरमा छापिएको एक सय रूपैयाँको नोटको अहिले एक लाख रूपैयाँसम्म पर्छ।'
जनकराजको हस्ताक्षर भएको यो एक सयको नोट जम्मा ४५ हजार थान छापिएको थियो। यो सितिमिति पाइँदैन। यो नेपाली मात्रै होइन, विदेशी मुद्रा संकलकहरूको खोजीमा समेत पर्छ। छ सयदेखि एक हजार डलरसम्ममा यो नोट मुलुकबाहिर पनि बिक्री हुने मुद्रा संकलकहरू बताउँछन्।
मुद्राको भाउ त्यो नोट कति सजिलै पाइन्छ भन्ने कुराले नै निर्धारण गर्छ।
'२००७ सालमा सानै उमेरमा केही दिनलाई राजा बन्न पाएका ज्ञानेन्द्रको पालामा निष्कासन भएको ५० पैसा निकै कम पाइन्छ, त्यो अमूल्य छ,' महर्जन भन्छन्।
राजा वीरेन्द्रको तस्बिर अंकित नोट तथा सिक्काहरूको प्रकाशन तथा टकामरी निकै लामो समय भयो। त्यसैले राजा वीरेन्द्रका पालाका नोट तथा सिक्काहरूको तुलनामा ज्ञानेन्द्रका पालामा छापिएका नोटले बढी मूल्य पाउँछ।
राजा वीरेन्द्रकै पालामा छापिएको २५ र २५० रूपैयाँको नोटको भने मूल्य तुलनात्मक रूपमा धेरै छ। अहिले ती नोटको क्रमशः ४ सय ५० रूपैयाँ र ३ हजारसम्म पर्छ।
तर कतिपय सर्वसाधारणलाई यस्तो जानकारी नै हुँदैन।
'छाउनी संग्रहालय बनेपछि राजा महेन्द्रले पुरानो सिक्का सरकारलाई बिक्री गर्न आह्वान गरेका थिए,' महर्जनले भने, 'मल्लकालीन चाँदीको पहिलो सिक्का कुनै व्यक्तिले त्यो समय एक सय रूपैयाँभन्दा कममा बिक्री गरे, अहिले त्यसको मूल्य नै एक लाख पर्छ।'
धेरैले भविष्यमा हुने यस्तै लाभका लागि पनि मुद्रा संकलन गर्छन्। केहीले भने यसलाई सोखमै सीमित राखेका हुन्छन्। यस्तै सोख र सम्भावना पछ्याउँदै अहिले नेपालमा चार सय जना मुद्रा संकलनमा लागिरहेका छन्।
प्राचीन समयमा चीन हुँदै अन्य एसियाली मुलुकसँग व्यापार गर्ने रूटमा नेपाल पर्थ्यो। त्यो समय बढीजसो नेवार समुदायका मानिस व्यापार व्यवसायमा संलग्न थिए। रूटमा पर्ने भएकाले यहाँ तिब्बती मुद्रा पनि भित्रिन्थे। त्यसैले यस्ता पुराना मुद्रा संकलनमा नेवार समुदायकै मानिस धेरै लागेको पाइन्छ।
पछिल्लो समय नेपालसहित विश्वभर विद्युतीय भुक्तानीको माध्यम बढेको छ। यसले नयाँ संकलकहरूलाई समस्या पर्दै जाने देखिन्छ भने पुरानालाई थप लाभ पुग्दै जानेछ। भावी दिनमा यस्ता पुराना मुद्राको महत्व पनि थप बढ्दै जानेछ।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी