उद्योग संगठन मोरङ महिला उद्यम समिति र अमेरिकन कर्नर विराटनगरले महिला उद्यमी र व्यवसायीहरूका लागि वित्तीय साक्षरता सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले वित्तीय साक्षरताले आर्थिक लक्ष्य निर्धारण, पुँजीको व्यवस्थापन, आफ्नो सम्पत्तिको संरक्षण गर्नका साथै भविष्यमा आइपर्ने जोखिम बारेमा जानकारी प्राप्त गर्न मद्दत पुर्याउने बताउँदै महिलाहरूलाई वित्तीय क्षेत्रबाट प्रवाह हुने सेवाबाट लाभान्वित हुन अनुरोध गरे।
ग्राहकहरूलाई आफूले प्रदान गर्दै आएको सेवा र सुविधा प्रति आकर्षित गर्न वित्तीय साक्षरता अभियानलाई प्राथमिकता दिन वित्तीय संस्थाहरू समक्ष अनुरोध गर्दै उनले यस प्रकारको कार्यक्रमले वित्तीय साक्षरता विभिन्न आयामलाई बुझ्न सहयोग पुर्याइ वित्तीय प्रणालीमा विश्वास अभिवृद्धि गर्ने बताए।
महिला उद्यम समितिको संयोजक प्रतिभा रिजालले वित्तीय साक्षताले महिला उद्यमी व्यवसायीहरूलाई उपयुक्त निर्णय लिन सक्षम बनाउने कुरालाई मध्यनजर गरी अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको बताइन्।
उनले महिला उद्यमी व्यवसायीहरूको वित्तीय क्षेत्रमा पहुँच बढाउन साक्षरता अभियानले उत्प्रेरकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।
बैंकर्स शर्मिला होमागाईले वित्तीय लक्ष्य निर्धारण, ऋणको सदुपयोग, खर्च गर्दा अपनाउनु पर्ने सतर्कता, जोखिम बहन क्षमतालगायतका विषयमा प्रकाश पार्दै वित्तीय संस्थाले महिला उद्यमी व्यवसायीहरूको सुविधाका लागि गरेको व्यवस्थाका बारेमा बताइन्।
उनले कुनैपनि क्षेत्रमा लगानी गर्नुअघि महिला उद्यमी व्यवसायीलाई वित्तीय लक्ष्य निर्धारण अनुरोध गर्दै त्यसबाट आईपर्ने सहजता र चूनौतीलाई पूर्वानुमान गर्न आग्रह गरिन्।
बैंकर्स समिर श्रेष्ठले प्रविधिका कारण डिजिटल बैंकिङमा सर्वसाधारणको आकर्षण बढ्दो क्रममा रहेकाले मानिसहरूलाई सेवा उपभोग गर्न बैंकसम्म धाउनुपर्ने बाध्यतामा कमी आएको बताए।
उनले महिला उद्यमी व्यवसायीहरूलाई डिजीटल बैंकिङ प्रणाली प्रति अभ्यस्त हुन अनुरोध गर्दै वित्तीय संस्थाले डिजिटल बैंकिङका माध्यमबाट उपलब्ध गराउँदै आएका सेवाहरूका विषयमा जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकी निवर्तमान अध्यक्ष सरु केसीले महिला उद्यमी व्यवसायीलाई बढावा दिदा राज्य प्रणाली प्रति सकारात्मक सन्देश गई आर्थिक विकासमा सहयोगी सिद्ध हुने बताउँदै महिलाहरूलाई आफूमा निहित सिपलाई उद्यमशिलता विकासमा रुपान्तरण गर्न आग्रह गरिन्।
कार्यक्रममा उद्योग संगठन मोरङ महिला उद्यम समितिका सदस्यहरु, महिला उद्यमीहरू व्यवसायीहरूको सहभागिता रहेको थियो।